त्रिशक्ति सामुदायिक वन मोर्मीः म्याद सकिएको निर्वाचन समितिबाट नियमावली विपरित चुनाव


पालिका पत्र

२९ जेष्ठ २०८१, मंगलवार २१:२७ मा प्रकाशित

बाणगङ्गा, जेठ २९ ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. ८ मा रहेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मिमा कानुन मिचेर निर्वाचन प्रकृया सुरु भएको छ । साधारण सभा भएको ५ महिना पछि निर्वाचन प्रकृया सुरु गरिएको छ । माघ ६ गते सम्पन्न सभाले एक महिना भित्र निर्वाचन गराउने म्यान्डेड दिएर निर्वाचन मण्डल गठन भएको थियो । कानुन व्यवसायी रविराज आचार्य मुख्य निर्वाचन अधिकृत र सदस्यमा दुर्गा आचार्य र दिनेश आचार्य रहने गरि जिम्मेवारी दिइएको थियो । समुहको विधान अनुसार निर्वाचन समितिले १ महिना भित्र निर्वाचन गराउन पर्छ । म्याद सकिएमा पुःन म्याद थप गर्नु पर्छ । तर म्याद थप भएको छैन । यता निर्वाचन समितिका दुई जना सदस्यले राजिनामा दिए पछि कानुनी जटिलता थपिएको थियो । पुःन विशेष साधारण बोलाई निर्वाचन प्रकृया सुरु गर्नु पर्ने भए पनि समितिको व्यवस्था पछि संकट छ ।

कानुन मिचेर निर्वाचन ।
समितिको मंगलबार उम्मेदवारहरूलाई चुनाव चिन्ह वितरण गर्ने कार्यक्रम रहेको छ । तर केही उपभोक्ताले प्रकृया अवैधानिक भएको भन्दै डिभिजन वन कार्यालयमा उजुरी दिएका छन् । कानुन अनुसार संघ र प्रदेशको नियम फरक रहेको छ । २०७९ सालमा जारी प्रदेश राजपत्र अनुसार अध्यक्ष र सचिव मध्ये एक पदमा महिला अनिवार्य रहेको छ । मुख्य निर्वाचन अधिकृत आचार्यले संघीय नियमावली अनुसार अगाडि बढेको बताउनु भयो । नियमावली अनुसार २ पदाधिकारीमा महिला अनिवार्य गरेको छ । अध्यक्ष वा कोषाध्यक्ष र उपाध्यक्ष वा सचिव मध्ये एक पदमा महिला अनिवार्य गरेको छ । तर निर्वाचन मण्डलले कोषाध्यक्ष पदमा महिला भन्दै निवर्तमान कोषाध्यक्षको उम्मेद्वारी खारेज गरेको छ । वन समितिले समावेशी पद निश्चित नगर्दा समस्या भएको आचार्यको दावी रहेको थियो ।

वनमा १३ सय ५७ उपभोक्ता रहेका छन् । वडाको मोर्मि ढोडेकोल र चप्परगाउँका उपभोक्ता समेटि २०६६ सालमा सामुदायिक वन दर्ता गरिएको थियो । समयमा निर्वाचन नहँदा अघिल्लो वर्ष कटान भएको करिब ८ हजार क्युफिट काठ घाट गद्दीमा रहेका छन् । यो वर्षको कटान नहुदाँ समितिलाई करोडौँको घाटा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्