बाणगङ्गा नगरपालिकाको न्यायिक समितिले एक वर्षमा ८६.३६ प्रतिशत विवाद मिलायो 


पालिका पत्र

१६ श्रावण २०८१, बुधबार २१:०३ मा प्रकाशित


बाणगङ्गा, १६ साउन ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८० / ०८१ मा दर्ता भएका ४४ वटा विवाद मध्ये ३८ वटा विवाद फर्छ्यौट गरेको छ ।


बाणगङ्गा नगरपालिकाको उपप्रमुख एवं न्यायिक समिति संयोजक रिता कुमारी चौधरीले अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएका तथा गत आर्थिक वर्षमा दर्ता भएका विवाद उपर छलफल गराई ८६.३६ प्रतिशत अर्थात ३८ विवाद मिलापत्र गर्न सफल भएको जानकारी दिइन् । 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (२) अनुसार पेस भएको विवादको निवेदनको कारवाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुबै पक्षको सहमतिमा मिलापत्र गराईएको  बताईएको छ । सकभर वडा कार्यालयमा भएका मेलमिलापकर्तालाई तालिम, प्रशिक्षण गराई न्यायिक विवादलाई मेलमिलापको माध्यमबाट समाधान गरिएको न्यायिक समिति संयोजक चौधरीले बताइन । 


चौधरीका अनुसार आ.व. २०७९ / ०८० मा फर्छ्यौट हुन बाँकी १८ उजुरीहरू यस आ.व. मा जिम्मेवारी सारिएको थियो । जसमा १७ वटा उजुरीहरू न्यायिक समितिको निर्णय मेलमिलाप प्रकृया तथा अन्य निकायमा गई फर्छ्यौट भएका छन र बाँकी १ उजुरी फर्छ्यौटको प्रकृयामा रहेका छन् । 


यस्तै आ.व. २०८०/८१ जम्मा २६ वटा उजुरीहरू दर्ता भएकोमा २१ उजुरीहरू आपसी सहमति, समितिको निर्णय र अन्य निकायमा गई फर्छ्यौट भएका छन् । नगरमा दर्ता भएका उजुरीहरू अधिकांश जग्गाको विषयमा, जग्गाको साँध सिमाना मिचेको, भोगचलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोगचलन गरेको, पति पत्नी बिचको सम्बन्ध , घरेलु हिंसा / महिला हिंसा आदि विषयमा उजुरीहरू दर्ता हुने गरेका छन् ।


बाणगङ्गा नगरपालिकाका ११ वटै वडाहरूमा मेलमिलापकेन्द्र रहेका छन् । जसबाट बढी भन्दा बढी विवाद तथा उजुरी मेलमिलापबाट नै फर्छ्यौट गर्ने गरी मेलमिलाप सम्बन्धी कार्यविधि २०७७ कार्यान्वयनमा रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्