विजयनगर, साउन २० ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अन्र्तगत पहिलो सन्तानको रुपमा छोरी पाउने नागरिकलाई बैंक खातामा पैसा जम्मा हुने गरेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मिने छोरीका नामको बैंक खाता सञ्चालन गरि १५ हजार रुपियाँ बचत गर्ने कार्यक्रम ल्याएको हो । सामुदायमा छोरीप्रति हुने विभेद अन्त्य गर्न र छोरीको सम्मानका लागि पालिकाले २०७८ सालमा सो योजना ल्याएको थियो । समाजमा रहेका छोरी चेली प्रतिको नकारात्मक मनोवृतिलाई निश्तेज पार्न ‘विजयनगर गाउँपालिका छोरी बचाउँ, छोरी पढाउँ’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
वडा नम्बर–२ जर्लैयाकी रिता यादवले आफ्नी पहिलो छोरी राधिका यादवको नाममा बैंकमा खोलिएको खातामा गाउँपालिकाले १५ हजार रुपियाँ जम्मा गरेको बताइन् । गाउँपालिकाले उक्त रकम दावीका लागि बनाइएको सबै मापदण्ड पूरा गरेकोले छोरीको नाममा सो रकम र थप ५ हजार गरि खातामा जम्मा भएको उनी बताउँछिन् । छोरीहरुको उज्ज्वल भविष्यका लागि सराहनीय काम भएको भन्दै प्रशंसा समेत यादवले गरिन् । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई प्रोत्सहन स्वरुप साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण लगायत योजना ल्याएको छ । यस अभियानले सार्थकता पाएको पालिकाले जनाएको छ ।
विजयनगरका दम्पतीले गाउँपालिकाले चलाएको यो अभियानप्रति आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा ३३ जना, २०७९/०८० मा ७५ र अ.व.२०८०/०८१ मा ५६ जना छोरीको बैंक खातामा एकमुष्ठ रकम जम्मा गरेको छ । छोरी बचाउँ, छोरी पढाउँ अभियान अन्तर्गत ३ वर्षमा गरी १ सय ६४ जना दम्पतीका पहिलो छोरीका नामको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका सूचना अधिकारी हिमलाल पौडेलले बताए ।
गाउँपालिकाले यस अभियानले लैङ्गिक समानता कायम गर्ने पूर्ण विश्वास लिएको छ । विविध घरायसी कारणबाट शिक्षाको उज्यालो घामबाट वञ्चित हुन पुगेका तथा कक्षा छाड्नेहरुको हालको अवस्थालाई मध्यनजर गरि छोरी बचाउँ, छोरी पढाउँ अभियान चलाएको जनाइएको छ । आगामी दिनहरुमा त्यसो हुन नदिन र छोरा र छोरीबीचको भेदभाव अन्त्य गर्नका लागि यस अभियानमार्फत जोड दिइएको छ । गाउँपालिका अध्यक्ष थापाले बचतका माध्यमबाट भविष्यको आर्थिक बोझ कम गर्ने बताए । सहज जीवन निर्वाह गरि आत्मसम्मानका साथ जीउने वातावरण निर्माणका लागि पहिलो सन्तानको नाममा रहेको बैँक खातामा गाउँपालिकाले एकमुष्ठ १५ हजार रुपियाँको दरले रकम जम्मा हुने गरेको बताए । अध्यक्ष थापाले भने; “परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ । त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तिमा ५ हजार अनिवार्य वा त्यो भन्दा बढी रकम जम्मा गर्न लगाइन्छ ।” बैंकमा जम्मा गरिएको रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको उनको भनाई छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यस अभियानले बाल बिबाहको अन्त्य हुने बताइन् । छोरीको बिहेवारी गर्दा लाग्ने खर्चमा केही राहत हुने बताउँदै ग्रामिण क्षेत्रमा छोरीलाई पढाउन र उनीहरुको भविष्य सुन्दर बनाउन यो कार्यक्रम ल्याइएको उपाध्यक्ष चौधरीले जिकिर गरिन् ।
पालिकाभित्र बसोबास भएका विवाहित दम्पतीबाट जन्मिएका पहिलो छोरीलाई बुझ्नुपर्ने बताउँदै पहिलो, दोस्रो वा सो भन्दा बढी सन्तान छोरा भएकोमा सो पछि जन्मिएको पहिलो छोरीलाई समेत कार्यक्रम लागू हुनेछ । गाउँपालिकाले एकमुष्ठ बीउ पुँजीको रुपमा जम्मा गर्छ । सो कोषमा अभिभावकले आफ्नो इच्छा अनुसार थप रकम जम्मा गर्न सक्नेछन् । घरदैलो सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को अधिकार प्रयोग गरि पालिकाले निर्देशिका बनाई लागु गरेको छ । पालिकाले छोरी बचाउँ, छोरी पढाउँ अभियान सञ्चालन निर्देशिका २०७८ मा सञ्चालन गरेको छ ।