लिजामा ‘बाणगंगा’ प्रथम, अन्तिममा यशोधरा : खस्कियो सबै पालिकाको अंकभार !


७ भाद्र २०८१, शुक्रबार १७:०२ मा प्रकाशित

कपिलवस्तु, भदौ ७ गते । कपिलवस्तुका १० स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा बाणगंगा नगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८४.२५ अंकभार ल्याउँदै बाणगंगा नगरपालिका जिल्लाकै पहिलो पालिका बन्न सफल भएको हो ।

लिजामा अघिल्लो अंकभार भन्दा अहिले खस्किएको पाइएको छ । अघिल्लो अंकभार ८९.५ अंकभार कायम रहेकोमा हाल ५.२५ अंक गिरावट आई ८४.२५ अंक प्राप्त गरेको हो । मन्त्रालयले गत माघमा सार्वजनिक गरेको स्वमूल्यांकन प्रणालीमा कायम गरेका कपिलवस्तुका स्थानीय पालिकाको अंकभारमा गिरावट आएको छ ।

मन्त्रालयका अनुसार ७६ अंकभार ल्याउँदै बुद्धभूमि नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामा दोस्रो स्थान प्राप्त गरेको छ । ७५.२५ अंकभार सहित बिजयनगर गाउँपालिका तेस्रो भएको छ ।

यसअघि, स्वमुल्यांकनको आधारमा बुद्धभूमि नगरपालिकाले ८१, शिवराज नगरपालिकाले ७५.२५, महाराजगंज नगरपालिकाले ६९.५, बिजयनगर गाउँपालिकाले ७८, कृष्णनगरले ६७.२५, शुद्धोधनले ५८, यशोधराले ५३.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
अहिले भने शिवराज नगरपालिकाले ७१, महाराजगंज नगरपालिकाले ६७.२५, कपिलवस्तु नगरपालिकाले ६६.५०, कृष्णनगर नगरपालिकाले ६५, मायादेवी गाउँपालिकाले ६१.२५, शुद्धोधन गाउँपालिकाले ५७.७५ र अन्तिममा यशोधरा गाउँपालिकाले ५४.२५ अंकभार प्राप्त गरेका छन् ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा शुसासनमा रहेका कमी कमजोरी पक्षको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न, गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण लगायतका विषयमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्