लुम्बिनीमा वन मन्त्रालयले गर्‍यो १०९ अधिकृतको सरुवा (को कहाँ पुगे ?)


८ भाद्र २०८१, शनिबार १४:५९ मा प्रकाशित

कपिलवस्तु, भदौ ८ । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ। वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले चौथो तहका फरेस्टरदेखि अधिकृतस्तर आठौंसम्मका गरी कुल १५७ जना कर्मचारीको सरुवा गरेका हुन् । यसमध्ये १०९ जना अधिकृत रहेका छन्।

मन्त्रालयका अनुसार यो सरुवा दुई वर्षभन्दा बढी एउटै स्थानमा कार्यरत सबै अधिकृत र कर्मचारीहरूलाई लक्षित गरी गरिएको हो। मन्त्री कुर्मीले भने, “दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने हाम्रो नीति अनुसार यो निर्णय लिइएको हो।”

उनले थप स्पष्ट पारे, “एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा यो सरुवा गरिएको हो। यसले कर्मचारीहरूलाई नयाँ वातावरणमा काम गर्ने र आफ्नो क्षमता विस्तार गर्ने अवसर प्रदान गर्नेछ।”

मन्त्रालयका योजना प्रमुख केशव खड्काले यस निर्णयको व्यापक प्रभावबारे टिप्पणी गर्दै भने, “वन मन्त्रालयको यो निर्णयले अन्य मन्त्रालयहरूलाई पनि आफ्ना लामो समयदेखि एउटै स्थानमा कार्यरत कर्मचारीहरूको सरुवा गर्न दबाब सिर्जना गरेको छ।”

यो कदमले प्रशासनिक कार्यक्षमता बढाउने र कर्मचारी व्यवस्थापनमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। सरुवा भएका कर्मचारीहरूलाई आफ्नो नयाँ कार्यस्थलमा एक महिनाभित्र हाजिर हुन निर्देशन दिइएको छ । मन्त्रालयले यो प्रक्रिया सहज बनाउन र कुनै पनि समस्या समाधान गर्न विशेष टोली गठन गरेको जनाएको छ ।

यो व्यापक सरुवाले लुम्बिनी प्रदेशको वन क्षेत्र व्यवस्थापनमा नयाँ गतिशीलता ल्याउने र दीर्घकालीन रूपमा प्रभावकारी सेवा प्रवाहमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

हेनुहोस् को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस्