कोटिया-बढनी नाका : मध्यरातमा सक्रिय हुने तस्करी नेटवर्क !


१० भाद्र २०८१, सोमबार २१:३१ मा प्रकाशित

भदौ १० गते । सरकार फेरिएसँगै कपिलवस्तुको पश्चिमी क्षेत्रमा तस्करीका गतिविधिहरूमा वृद्धि भएका छन् । जिल्लाको कोटिया बढनी नाकाबाट अहिले खुलेआम तस्करी भइरहेको छ । यो नाका शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (विओपी) भिल्मी अन्तर्गत पर्ने भएकाले यहाँ प्रहरीकै संलग्नतामा अवैध रुपमा राज्यको दोहन हुने गरि तस्करी मौलाएको हो ।

भिल्मी विओपीका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक सुर्य देवकोटा तस्करसँग मिलेर रातको समयमा ब्यापक रुपमा तस्करी गराएको स्रोतको दाबी छ । राति १२ बजेदेखि ३ बजेसम्म तस्करी हुने गरेको पाइएको छ । स्रोतका अनुसार भारतको कोटियामा बस्ने सुरेन्द्र तेलीले शसस्त्र प्रहरी बल भिल्मीका प्रहरी निरीक्षक देवकोटाको साथ पाएर ठुलो मात्रामा कपडा, मोटरपार्ट्स, हार्डवेयर, जुत्ता चप्पल, चिनी, प्याज लगायतका सामग्रीहरू नेपाल तर्फ तस्करी गरिरहेका छन् ।

यस्तै, महाराजगंजका हनुमान गुप्ताले पनि चिनी, कपडा र मोटरपार्ट्सको तस्करी सुरु गरेका श्रोतको भनाइ छ । उता, करिब एक वर्षअघि, तेलीले भारतबाट नेपालमा तस्करीका सामान पठाउँदै गर्दा कृष्णनगर भन्सारको टोलीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेलगत्तै भन्सारले तेलीको नाममा पक्राउ पूर्जी समेत जारी गरेको थियो । तर, भारतीय नागरिक भएका कारण उनी फरार भए । पछि, तेली र गुप्ताले शसस्त्र प्रहरीको सहयोगमा हर्दौनाबाट तस्करी सुरु गरेका थिए ।

वर्षातको मौसममा बाटो विग्रिएकाले तस्करहरूलाई केही समस्या आएको थियो । तर, प्रहरी निरीक्षक देवकोटाको साथ पाएपछि तेली पुनः सक्रिय बनेका छन् र तस्करीलाई निरन्तरता दिइरहेका छन् । उनीहरूले शिवभरवा, कोटियाको बाटो हुँदै तस्करी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

मुख्यगरि, तस्करले बनचौरालाई केन्द्रित गरि अवैध सामानको तस्करी गरिरहेका छन् । तस्करहरुको साँठगाँठका बारेमा प्रहरी नै मौन देखिएको छ । यता प्रहरी निरिक्षक देवकोटाले सिधै तस्करसंग मिलेर काम गराएको शसस्त्र प्रहरी बल विओपी भिल्मीका एक जवानले भने, “हामीले सामान पक्राउ गर्दा हाकिम साहबले फोन गरेर छोड्दे भन्छन् ।”

देवकोटा चारमहिना अघि मात्रै बिओपी इन्चार्जको रुपमा त्यहाँ जिम्मेवारी सम्हालेका हुन् । उनले तस्करीका बारेमा अनभिज्ञता प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्