घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण (फोटो फिचर)


१६ भाद्र २०८१, आईतवार ०९:४२ मा प्रकाशित

कपिलवस्तु, भदौ १६ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको नवीकरण सेवा दिएको छ । यो कदम कपिलवस्तु सहित २८ वटा जिल्लामा सुरु गरिएको बायोमेट्रिक भेरिफिकेशन कार्यक्रमको एक अंश हो ।

गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख पञ्च गुलाम नाउँ स्वयं लाभग्राहीहरूको घरमा पुगेर यो सेवा प्रदान गर्दै आएका छन् । उनले लाभग्राहीको एउटा औंलाको छाप बायोमेट्रिक गरी सामाजिक सुरक्षा प्रणालीमा अपडेट गर्ने, फारम भर्ने, कागजात व्यवस्थित गर्ने र तत्कालै नवीकरणको निस्सा उपलब्ध गराउने काम गर्दछन्।

चालु आर्थिक वर्षको साउनदेखि भदौ मसान्तसम्म नवीकरणको अवधि तोकिएको छ। यस अवधिमा हालसम्म २८ जना अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीलाई घरमै पुगेर सेवा दिइएको छ।

वडा नम्बर ४ का लाभग्राही राधेश्याम तिवारीले भने, ‘आफु अशक्त अवस्थामा रहेका कारण वडासम्म पुग्न समस्या भएका बेला घरमै आएर नवीकरणको सेवा दिइएकोमा खुसी लागेको छ।’ यस्तै, वडा नम्बर १ का अशक्त जेष्ठ नागरिक रामबालक कुर्मीले पनि पालिकाको यो सेवालाई उदाहरणीय बताए ।

यशोधरा गाउँपालिकामा गत आर्थिक वर्षसम्म कुल ८,४७० जना सामाजिक सुरक्षा भत्ताका लाभग्राही रहेका छन् । यसमा ६८ वर्षमाथिका जेष्ठ नागरिक, ६० वर्षमाथिका दलित जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति, बालबालिका र लोपोन्मुख जातिका व्यक्तिहरू समावेश छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषवदेव खनालले भने, ‘शारीरिक अशक्तताका कारण वडा कार्यालयसम्म पनि जान नसक्ने लाभग्राहीलाई लक्षित गरी यो सेवा दिइएको हो।’ गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले यस पहललाई प्रशंसनीय बताउँदै न्यून जनशक्तिका बाबजुद पनि नागरिकको समस्यालाई सम्बोधन गर्न सफल भएको बताए ।

यो पहलले सरकारी सेवालाई नागरिकको घरदैलोमा पुर्याएर सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको छ । यसले विशेषगरी अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो अधिकार र सुविधा प्राप्त गर्न सहज बनाएको छ, जुन सामाजिक समावेशीकरण र समानताको दृष्टिकोणले महत्त्वपूर्ण कदम हो ।

प्रतिक्रिया दिनुहोस्