मधुवन सामुदायिक वनद्वारा करिब ४ करोडको बजेट पेश


३१ भाद्र २०८१, सोमबार २१:४६ मा प्रकाशित

रविना कडेल, भदौ ३१  ।
मधुवन सामुदायिक वन उपभोक्ता समुहले करिब ४ करोड बराबरको बजेट पेश गरेको छ । वनले आ.व २०८१/०८२ का लागि ३ करोड ९७ लाख २२ हजार ६ सय ५९ रुपैयाँको अनुमानित बजेट पेश गरेको हो । सोमवार वनको प्राङ्गणमा भएको १९ औँ वार्षिक साधारण सभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । वनका अध्यक्ष शान्त बिक्रम पौडेलले प्रस्तुत गरेको वनको अनुमानित आम्दानी तथा खर्च साधारण सभाले पास गरेको छ । वनले यस आर्थिक वर्षमा वन संरक्षण तथा व्यवस्थापनका लागि ८० लाख, वन विकासका लागि १० लाख, अन्य वन विकासका लागि ३४ लाख, वन संरक्षणको लागि २२ लाख ६० हजार, औजार, उपकरण, अनुसन्धान, प्रचारप्रसार र क्षमता विकासका लागि ११ लाख २० हजार, वन उद्यमको लागि ५ लाख, गरिबी न्यूनिकरणका लागि ५० लाख, महिला सशक्तिकरणको लागि ११ लाख ५० हजार, समुदायको हित सम्बन्धी ९९ लाख ७० हजार र प्रशासनिक खर्च ३२ लाख ७५ हजार गरी कुल ३ करोड ५६ लाख ७५ हजारको बजेट खर्च लक्ष्य राखेको छ ।


कार्यक्रममा प्रमुख अतिथि समेत रहेका डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख अजित कर्णले सामुदायिक वनका लागि गर्नुपर्ने सम्पूर्ण कामहरू इमान्दारीका साथ गर्ने बताए । उनले वन जङ्गल संरक्षण, वन विकास र उपभोक्ताको हितमा आफू सँधै लागि रहने बताए । उनले मधुवनले गरेका वन विकास उपभोक्ताका लागि गरेका कार्यको खुलेर प्रशंसा समेत गरे ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा वाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी थारूले सम्पूर्ण सामुदायिक वनहरुले नगर सँग समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिइन । उनले  वाणगङ्गाका वडा कार्यालयमा भन्दा दुइ गुणा बजेट वनमा भएकाले नगर सरकार सँगको साझेदारी काम गर्न सकेमा नगर समृद्ध हुने बताइन । उनले वनले गरेका गरिबी निवारणका कार्यहरू अत्यन्त राम्रा रहेको बताइन । वनले साधारण सभामा पाँचवटा उपभोक्तालाई घरको चाबी हस्तान्तरण गरेको छ । 


कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन समितका लुम्बिनी प्रदेश उपाध्यक्ष डिल्लीराज रेग्मी, सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष तथा फूलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी, विभिन्न वनका प्रतिनिधि, राजनैतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, वनका संस्थापक अध्यक्षहरू, वनका उपभोक्ता, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ प्रगति प्रतिवेदन समुहका सचिव  अनिता थापाले प्रस्तुत गरेकी थिइन । यस्तै समुहका कोषाध्यक्ष सरिता अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको जनाईएको छ । यता लेखा समितिको प्रतिवेदन लेखा संयोजक मधु अर्यालले प्रस्तुत गरेका थिए । वनका उपाध्यक्ष शालिकराम भुसालको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव अनिता थापाले गरेकी थिइन । सभामा करिब ५ सय भन्दा धेरै उपभोक्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्