शिवराजमा विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षा छात्रवृत्ति घोषणा


पालिका पत्र

१४ आश्विन २०८१, सोमबार २०:०४ मा प्रकाशित

बाणगंगा, असोज १४ । कपिलवस्तुको शिवराज नगरपालिकामा आर्थिक रुपमा अति विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न सहायता प्रदान गर्ने ‘मेयर, उप-मेयर उच्च शिक्षा सहयोग छात्रवृत्ति’ कार्यक्रम घोषणा गरिएको छ। यो कार्यक्रम नगरको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिएको छ र बजेट समेत विनियोजन भइसकेको छ। नगर प्रमुख अजय थापाले जानकारी गराएअनुसार, कार्यविधि पास भइसकेको र चाँडै नै आवेदन खुला गरिने तयारी गरिएको छ।

यस छात्रवृत्ति अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने ३१ जनालाई वार्षिक २० हजार, चिकित्साशास्त्र र इन्जिनियरिङ्ग विषयका २ जनालाई वार्षिक ४५ हजार, र अन्य प्राविधिक धारमा अध्ययन गर्ने ३ जनालाई वार्षिक ३० हजारका दरले छात्रवृत्ति प्रदान गरिनेछ।

नगरपालिकाले विशेष गरी आर्थिक रूपमा कमजोर, विपन्न, र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्य लिएको छ। छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले नगरपालिकाले सार्वजनिक गर्ने सूचनामा आधारित रही आवेदन दिन सक्नेछन्।

नगर उपप्रमुख शिव कुमारी थारुले अति गरिब र विपन्न विद्यार्थीहरूको डाक्टर, इञ्जिनियर, र प्राविधिक धारका विषयमा अध्ययन गर्ने सपना पूरा हुने आशा व्यक्त गरिन्। नगरपालिकाले ‘सबैका लागि शिक्षा कार्यक्रम’लाई सशक्त रूपमा लागू गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्