बुद्धभूमि नगरपालिकाको अल्टिमेटम: सडक अवरोध हटाउन ७ दिनको समयसीमा


पालिका पत्र

७ कार्तिक २०८१, बुधबार २०:२९ मा प्रकाशित

बुद्धभूमि, कार्तिक ०७ – बुद्धभूमि नगरपालिकाले नगरभित्रका सडकमा अवरोध नगर्न आग्रह गर्दै अल्टिमेटम जारी गरेको छ। महेन्द्र राजमार्ग र अन्य सहायक सडकहरूमा बढ्दो दुर्घटनाका कारण आएको जनगुनासोपछि मंगलबार नगरपालिकाले यस्तो सूचना जारी गरेको हो।

नगरका विभिन्न क्षेत्रका सडक किनारमा पशुचौपाया बाँध्ने, सडक नाली अतिक्रमण गर्ने, र निर्माण सामग्रीहरू (जस्तै ढुङ्गा, गिट्टी, बालुवा, छड आदि) राख्ने गरिएको पाइएको छ। साथै, विस्कुन सुकाउने, धान पराल राख्ने र धान थ्रेसर लगाएर सडक अवरोध गर्दा आवतजावतमा समस्या भई दुर्घटनाको जोखिम बढेको छ।

बारम्बार सूचना जारी गर्दा पनि अटेरी गरिएकाले नगरपालिकाले अबको ७ दिनभित्र सडक अवरोध हटाउन अल्टिमेटम दिएको छ। नगरपालिकाले चेतावनी दिँदै भनेको छ कि सूचना पालना नगरेको खण्डमा अवरोध हटाउने कार्य नगरपालिकालेनै गर्नेछ र सो कार्यको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ। पछिल्लो समयमा भित्री सडकहरूमा धान थ्रेसर राख्ने र धान सुकाउने कामले आवतजावतमा थप समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्