सिमा अपराध नियन्त्रणमा समुदायसँग जोडिदैं सशस्त्र प्रहरी


पालिका पत्र

१५ कार्तिक २०८१, बिहीबार ११:०२ मा प्रकाशित

कपिलवस्तु, कार्तिक १५ । सशस्त्र प्रहरी बल नेपालले लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका ६ जिल्लाका सीमावर्ती क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देही चन्द्रौटाको आयोजनामा सञ्चालित यस कार्यक्रममा २९ वटा स्थानीय तह अन्तर्गतका ८८ वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेमा सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा बाँके र बर्दिया जिल्लाका वडाध्यक्षहरूसँग छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रम कात्तिक ९ गते सम्पन्न गरिएको जनाइएको छ ।

त्यसैगरी, रुपन्देहीको सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटरमा कात्तिक १२ गते र कार्तिक १३ गते कपिलवस्तु स्थित सशस्त्र बल नम्बर ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, अवैध चोरी निकासी पैठारी, लागु औषध ओसारपसार, हातहतियार तथा विस्फोटक पदार्थको नियन्त्रण र मानव बेचबिखन रोकथाम लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी वडाध्यक्षहरूले सीमित स्रोत साधनका बाबजुद सशस्त्र प्रहरी बलको परिचालनले सीमा अपराध न्यूनीकरण र राजश्व संकलनमा उल्लेख्य सुधार आएको बताए । विपद् उद्धार तथा राहत वितरण कार्यमा समेत सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ ।

सशस्त्र प्रहरी बलले सीमा विकासका कार्यहरूमा स्थानीयसँग गरेको समन्वय र सहकार्य, सीमा सहजीकरण तथा निगरानी समिति गठन र सीमावासीका लागि सञ्चालन गरेका कल्याणकारी कार्यक्रमहरूको समेत सहभागीहरूले प्रशंसा गरेका छन् ।

उत्कृष्ट विद्यार्थीलाई शैक्षिक वृत्ति, एपीएफ स्कुलमा निःशुल्क अध्यापन र निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमले सीमावासीमा सकारात्मक सन्देश गएको छ । सशस्त्र प्रहरी बलका अधिकारीहरूले यस्ता कार्यक्रमले सीमा सुरक्षा र व्यवस्थापनमा स्थानीय तहको सहभागिता बढाउन र समन्वयात्मक कार्य गर्न सहज हुने बताएका छन् ।

कार्यक्रममा सम्बन्धित जिल्लाका गणपतिहरू, सीमामा परिचालित युनिटका गुल्मपति तथा बीओपी प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्