हरि घिमिरे, मंसिर ६।
बाणगंगा नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा तेस्रो नगरस्तरीय खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। महिला खेलाडीहरूको सहभागितालाई प्रोत्साहित गर्दै सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गरिन लागेको हो।
प्रतियोगितामा इच्छुक महिला खेलाडीहरूले मंसिर ११ गते साँझ ४ बजेसम्म बाणगंगा नगरपालिकाको कार्यालय (महिला बालबालिका शाखा) मा टोली दर्ता गराउन सक्नेछन्। महिला विकास निरीक्षक शुशिला पन्थका अनुसार प्रतियोगिता डबल्स (दुईजनाको टोली) स्वरूपमा हुनेछ, जसमा प्रत्येक टोलीले नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
खेलकुद मंसिर १३ गते बिहान ८ः३० बजेदेखि सुरु हुनेछ। प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो, दोस्रो, तेस्रो, र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः रु १०,०००, रु ८,०००, रु ६,०००, र रु ४,००० पुरस्कार वितरण गरिने जनाइएको छ।
यस प्रतियोगिताले खेलकुदप्रतिको आकर्षण बढाउन, महिलाहरूलाई सशक्त बनाउन, र लैंगिक समानताको सन्देश प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास गरिएको छ। सामाजिक समानतामा योगदान पुर्याउन बाणगंगा नगरपालिकाको यो प्रयास सराहनीय रहेको छ।