पहिलो पटक डान्स आइडलमा महिलाको नेतृत्वः कपिलवस्तु महोत्सवको ऐतिहासिक कदम


१२ मंसिर २०८१, बुधबार २१:०० मा प्रकाशित

रबिना कडेल, १२ मंसिर ।
१५औं कपिलवस्तु महोत्सव यस वर्ष विशेष उपलब्धिको प्रतीक बनेको छ । महोत्सवको डान्स आइडल प्रतियोगिताको संयोजकको जिम्मेवारी पहिलो पटक महिलालाई प्रदान गरिएको छ । यो महोत्सवमा सहभागिताको लागि विभिन्न आयाम थप्न र प्रतिस्पर्धालाई थप प्रभावकारी तथा पारदर्शी बनाउन विष्णु मल्ललाई संयोजकको भूमिका सुम्पिएको छ ।


संयोजक विष्णु मल्लले आफ्नो अनुभव र प्रतिबद्धतालाई प्रस्तुत गर्दै यस पटकको डान्स आइडललाई अझै उत्कृष्ट बनाउन गहन प्रयास गरिरहेको बताइन् । उनले महिलालाई जिम्मेवारी दिनु एक महत्वपूर्ण पहिचान हो भन्नेमा जोड दिँदै यो अवसर आफ्नो व्यक्तिगत र व्यावसायिक उन्नतिका लागि पनि महत्त्वपूर्ण रहेको बताइन् ।


“महोत्सवको यस हिस्साले सधैं नै दर्शकहरूलाई आकर्षित गर्दै आएको छ । तर यस पटक हामी प्रतियोगितालाई अझै विशिष्ट र प्रतिस्पर्धात्मक बनाउने योजनामा छौं । महिला नेतृत्वको पहिचानमार्फत नयाँ दृष्टिकोण र समावेशिता प्रस्तुत गर्न सक्छौं भन्नेमा म विश्वस्त छु,” मल्लले बताइन् ।


महोत्सव आयोजक समितिका सदस्यहरूले पनि महिलालाई नेतृत्व दिने यो कदमलाई स्वागत गर्दै महोत्सवको अन्य कार्यक्रमहरूमा समेत समावेशिता र नयाँ सम्भावनाको खोजी गरिने बताए । मुल आयोजक समितिका संयोजक गणेश बहादुर क्षेत्रिले भने, “हामीले विष्णु मल्लजस्ता सक्षम नेतृत्वकर्तालाई डान्स आइडलको संयोजक बनाउन पाउँदा गौरवान्वित छौ ं। यसले नारी सशक्तिकरणलाई बल पु¥याउनेछ ।”


डान्स आइडलको तयारीका क्रममा मल्लले प्रतिभाको छनोट र मुल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउन विशेष ध्यान दिएको बताएकी छिन् । प्रतियोगितामा क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका निर्णायकहरूलाई निमन्त्रणा गर्ने र प्रतिस्पर्धालाई उत्साहजनक बनाउने योजनाहरू अघि सारिएको छ ।


महिलाको नेतृत्व र समावेशिताको प्रभाव


महिलालाई संयोजकको जिम्मेवारी दिनु महोत्सवको ऐतिहासिक निर्णयका रूपमा हेरिएको छ । यसले महिलाहरूको भूमिका महोत्सवजस्ता ठूला कार्यक्रमहरूमा बढ्दै गएको देखाउँछ । विष्णु मल्लले आफूलाई सुम्पिएको जिम्मेवारीले नारी सशक्तिकरणको एउटा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन् । “यो केवल मेरो व्यक्तिगत सफलता होइन, यो महिलाहरूले नेतृत्व गर्न सक्ने प्रमाण हो । मलाई विश्वास छ, यसले आगामी दिनमा महिला नेतृत्वलाई अझ प्रोत्साहन दिनेछ,” उनले भनिन् ।
डान्स आइडलको प्रतिस्पर्धा महोत्सवका मुख्य आकर्षणमध्ये एक भएको कारण यसलाई सबै तहका सहभागीहरूको प्रतिनिधित्व हुने खालको बनाइने तयारी भएको छ । प्रतियोगितामा स्थान पाउने कलाकारहरूको छनोट प्रक्रिया खुला अडिसनमार्फत गरिनेछ भने विभिन्न सांस्कृतिक प्रस्तुतीले पनि थप रौनक थप्ने अपेक्षा गरिएको छ ।
यो निर्णयले कपिलवस्तु महोत्सवलाई सामाजिक न्याय, लैंगिक समानता र समावेशिताको प्रतीक बनाउँदै आगामी महोत्सवहरूको लागि नयाँ दृष्टान्त प्रस्तुत गर्ने विश्वास आयोजक समितिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्