बाणगंगा, १३ मंसिर । कपिलवस्तुको धार्मिक तथा ऐतिहासिक स्थल मधुवनधाममा जीवनका विविध आयाम र बौद्ध धर्मका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सारीपुत्र फाउन्डेसनको आयोजनामा भएको यस कार्यक्रममा देशविदेशका सयौँ सहभागी उपस्थित थिए।
कार्यक्रममा थाइल्याण्डकी ९८ वर्षीय प्रख्यात विदुषी प्रोफेसर अचान सुजिन बोरीहर्नवानाकेल प्रमुख वक्ताको रूपमा सहभागी भइन्। उनीसँगै थाइल्याण्डबाट आएका भिक्षु, भिक्षुणी, विद्वान् र स्थानीय धर्मप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
प्रोफेसर सुजिनले बुद्धको शिक्षालाई कसरी आत्मसात् गर्ने र जीवनमा त्यसको प्रभावबारे आफ्नो विचार प्रस्तुत गरिन्। सहभागीहरूले बौद्ध धर्म, बुद्धत्व, र जीवनका महत्वपूर्ण शाश्वत् विषयमा जिज्ञासा राखे। उनका उत्तरहरू थाई भाषामा दिए पनि मधुवनधाम बौद्ध विहारका प्रमुख सुमंगलो भन्तेले नेपालीमा अनुवाद गरी उपस्थित सबैलाई जानकारी गराए।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी विशिष्ट अतिथि थिए। उनले ९८ वर्षको उमेरमा पनि प्रेरणादायक ज्ञान बाँड्दै आएकी सुजिनबाट सिक्न पाएकोमा खुसी व्यक्त गरे।
स्वास्थ्य सेवाको लागि पनि कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्यो। देवदह मेडिकल कलेजको सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा मुटु, छाला, नाक,कान,घाँटी, स्त्रीरोग र प्रसूति सम्बन्धी विशेषज्ञ जाँच गरिएको थियो। सहभागीहरूलाई आवश्यक परामर्श र निःशुल्क औषधि वितरण गरियो।
मधुवनधामले धार्मिक तथा सांस्कृतिक महत्वको स्थानका रूपमा अन्तर्राष्ट्रिय ख्याति कमाउँदै आएको छ। बुद्धले यहाँ महासमय सूत्र प्रदान गरेको धार्मिक मान्यता रहेकोले यो ठाउँ बौद्धमार्गीहरूबीच लोकप्रिय बन्दै गइरहेको छ।