बाणगंगाका स्थानीय समस्याहरू समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण


पालिका पत्र

१७ मंसिर २०८१, सोमबार ०९:०९ मा प्रकाशित

बाणगंगा, मंसिर १७ । कपिलवस्तुको बाणगंगा नगर भित्रका समस्याहरु समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराईएको छ । बाणगंगा क्षेत्रमा विभिन्न कारणले अलपत्र परेका संघ, प्रदेश र नगरका योजना र समस्याको समाधानकालागि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाणगंगा नगरपालिकाका विभिन्न स्थानहरूको अवलोकन क्रममा ध्यानाकर्षण गराएका हुन् । आईतबार उनले मधवुन क्षेत्रको गौशाला, कजवे पुल, र हथौसामा रहेको कृषि उपज केन्द्रको निरीक्षण गरे। यस क्रममा नगरप्रमुख चक्रपाणी अर्यालले यी स्थानहरूको बारेमा मुख्यमन्त्रीलाई जानकारी दिएका थिए।

नगरप्रमुख अर्यालले गौशाला निर्माणमा शुरुमा वनसँग विवाद भएको र ४ करोड रुपैयाँ खर्च गरेर संरचना निर्माण गरिसकेको बताए। यसबाहेक, चालु आर्थिक वर्षमा गौशालाको व्यवस्थापनका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको र अहिले मुख्य समस्या खानेपानीको अभाव रहेको उल्लेख गरे। उनले पानीको आपूर्ति र छाडा पशुचौपायाको व्यवस्थापनका लागि प्रदेश सरकारसँग सहयोगको अपेक्षा राखे।

मुख्यमन्त्री आचार्यले गाईहरूको नश्ल सुधार र अनुसन्धान केन्द्रको रूपमा गौशालालाई विकसित गर्ने सम्भावना व्यक्त गरे। उनले गाईहरूको व्यापारमा भारतीय बजारबाट २ लाख रुपैयाँमा गाई ल्याएर यस क्षेत्रमा उत्पादन गर्न सकिने विचार राखे। यसै गरी, गौशालामा पानीको व्यवस्थापन र सिंचाईको समस्या समाधान गर्न प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

मुख्यमन्त्रीले कजवे पुलको पुनर्निर्माणका लागि केन्द्र सरकारसँग बजेट माग गर्ने र हथौसामा रहेको कृषि उपज केन्द्र छिटो सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए। यसअवसरमा, प्रदेश सांसद गिरधारीलाल न्यौपाने, उपप्रमुख रिताकुमारी चौधरी, र अन्य जनप्रतिनिधिहरूले क्षेत्रका समस्याहरू समाधान गर्न प्रदेश सरकारसँग प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्