बाणगंगा, २३ मंसिर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कपडा बैङ्क स्थापना भएको छ। १५औँ कपिलवस्तु महोत्सवको अवसरमा महानायक राजेश हमालले उक्त बैङ्कको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा हमालले कपडा बैङ्कलाई समाजसेवाको पवित्र माध्यमका रूपमा लिँदै यसको सदुपयोग गर्न सबैलाई आग्रह गरे। छोटो मन्तव्य राख्दै उनले बैङ्कमार्फत् गरिब, दुःखी र कपडाको अभाव भएका व्यक्तिहरूलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नगरवासी तथा व्यापारीहरूलाई आफूले प्रयोग गरिसकेका कपडाहरू बैङ्कमा ल्याएर राख्न अनुरोध गरे।
हमालले भने, “यो एक पवित्र कर्म हो। यसले गरिब र पीडितलाई जीवन सहज बनाउनेछ। यदि व्यापारी हुनुहुन्छ भने स्टकमा रहेका कपडाहरू दान गर्न सक्नुहुन्छ। अन्यले पनि आफ्नो प्रयोग गरिसकेका कपडाहरू यहाँ राखेर अरूलाई सहयोग गर्न सक्छन्।”
कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले कपडा बैङ्कको अवधारणा धेरैअघि नै आएको भए पनि विविध कारणले ढिलो भएको बताए। उनले अब यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी नाना नभएकाहरूलाई सहयोग पुर्याउने प्रतिबद्धता जनाए।
बैङ्कका अभियन्ता कमल बिसीका अनुसार, यो अभियान सुरु भएको एक वर्षभित्रै समाजबाट सकारात्मक प्रतिक्रिया र सहयोग प्राप्त भएको छ। बिसीले अभियानको सुरुवातमा जनतालाई बुझाउन केही कठिनाइ भए पनि अहिले सबैले यसको महत्व बुझ्न थालेको बताए। नागरिकहरूले कुनै पनि प्रकारका प्रयोग गरिसकेका कपडाहरू दान गर्न सक्ने व्यवस्था गरिएको जानकारी पनि उनले दिए।
जम्मा गरिएका कपडाहरूलाई शुद्धिकरण गरी वर्गीकरण गरेर वितरण गरिने व्यवस्था छ। भविष्यमा यस अभियानमार्फत विदेशसम्म कपडा निर्यात गर्ने योजना पनि रहेको बिसीले बताए।
महानायक हमालको समर्थन र सहभागिताले अभियानलाई थप प्रेरणा र ऊर्जा प्रदान गरेको भन्दै बिसीले बाणगंगामा कपडा बैङ्कको भरपूर उपयोग हुने विश्वास व्यक्त गरे। नगरपालिकाले यस अभियानलाई सफल बनाउन संघसंस्थासँग सहकार्य गरी जनचेतना अभिवृद्धि गर्ने योजना बनाएको छ।
बाणगंगामा यसअघि आगलागी पीडितका लागि कपडा वितरण गरिएको स्मरण गर्दै नगरप्रमुख अर्यालले यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।