२९ मंसिर ।
बाणगंगा नगरपालिका वडा नं. १, ३, ४ र ५ मा रहेको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा गणेश बहादुर सिंह ठकुरी (सुशील) पुनः सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि चयन भएका छन्। मंसिर २४ गते सम्पन्न निर्वाचनमा अध्यक्षसहित उपाध्यक्ष, लेखा संयोजक र केही अन्य पदाधिकारी सर्वसम्मत चयन भएको निर्वाचन मण्डल संयोजक रामजी सेनले जानकारी दिएका छन्।
समूहको नयाँ कार्यसमितिमा उपाध्यक्ष बुद्ध बहादुर शाही, सचिव कमला सेन सुष्मा खाँण, सह–सचिव हरि प्रसाद पौडेल, कोषाध्यक्ष विना राना बुढाथोकी, लेखा संयोजक गुरुदेव पौडेल, र लेखा सदस्य कविराज भुसाल चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा लिलाराम चमार (मधेशी विपन्न), सिता गैरे (महिला), भोजराज आचार्य, शोभाखर पौडेल, विष्णु वि.सी., मिना थारु, सुनिता श्रेष्ठ, पोखराज थारु, मथुरा आचार्य, गिता विसी, होम बहादुर सेन, हरिबहादुर पुन, र ज्ञानु कुमारी नेपाली रहेका छन्।
अध्यक्षको प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष ठकुरीले समुदायिक वनको दीगो विकास र संरक्षणका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘श्रृङ्गीघाट सामुदायिक वनले स्थानीय जनताको जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। पुनः अध्यक्षको जिम्मेवारी दिएर विश्वास गरेकोमा सम्पूर्ण प्रतिनिधि र शुभेच्छुकप्रति आभारी छु। हाम्रो लक्ष्य वनको दीगो व्यवस्थापन, वन्यजन्तु संरक्षण, र स्थानीय समुदायको आर्थिक उत्थानमा योगदान पुर्याउनु हो।’
उनले कार्यसमितिको पारदर्शिता र जनमुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै सबै सदस्यको सक्रिय सहभागितालाई अझ प्रोत्साहन गर्ने बताए।
नयाँ कार्यकाल र कानुनी आधार
ठकुरीको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ। प्रदेश वन नियमावली २०७९ र संघीय वन नियमावली २०७९ का प्रावधानअनुसार कुनै पनि कार्य समितिको पदावधि अधिकतम पाँच वर्ष र अध्यक्ष पदमा दुई कार्यकाल मात्र निर्वाचित हुने कानुनी व्यवस्था छ।
श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षण र विकासमा मात्रै नभई शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। समुदायका लागि यसले एकिकृत विकासको नमुना प्रस्तुत गरेको बताइन्छ।