बाणगंगा, पौष ११ । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आन्द्राको क्यान्सरबाट पीडित नागरिकलाई सहयोग गर्न अभिनव कदम चालेको छ। बिहीबार नगरपालिकाले प्राकृतिक रूपमा दिशा गर्न नसक्ने क्यान्सर बिरामीलाई करिब एक वर्षसम्म पुग्ने ‘कोलोस्टोमी ब्याग’ वितरण गरेको हो । यसले क्यान्सर बिरामीहरूको दैनिक जीवन सहज बनाउन महत्त्वपूर्ण योगदान दिएको छ।
कोलोस्टोमी ब्याग पाउने बिरामी कृष्ण प्युठानीले नगरपालिकाको यो कदमलाई जीवनको महत्वपूर्ण राहत भन्दै नगर प्रमुख चक्रपाणी अर्याल र उनको टिमलाई धन्यवाद व्यक्त गरे। उनि लगाएत अन्य तिन जनालाई ‘कोलोस्टोमी ब्याग’ वितरण गरिएको छ ।
नगरपालिकाले स्वास्थ्य सेवा सुदृढ गर्न ८ लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएको छ। यसले न केवल क्यान्सर बिरामीहरूलाई, बल्कि स्पाइनल इन्जुरी भएका बिरामीलाई पनि सर्जिकल सामग्री उपलब्ध गराउने व्यवस्था गरेको छ।
नगर प्रमुख चक्रपाणी अर्यालका अनुसार, नगरपालिकाले जटिल रोगका बिरामीहरूको उपचारमा अवरोध कम गर्न रणनीतिक योजना अघि सारेको छ। उनले भने, ”स्वास्थ्य र उपचारमा समस्या भोगिरहेका नागरिकलाई राहत पुर्याउन हाम्रो प्रतिबद्धता जारी रहनेछ।”