बुद्धभूमिमा दुई दिने आँखा शिविरः ९२४ जनाको आँखा उपचार, २ सयको निःशुल्क अप्रेसन


पालिका पत्र

26 December, 2024 8:14 pm मा प्रकाशित


कपिलवस्तु, पौष ११ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरबाट ९२४ जनाले आँखा जाँच, औषधि र आवश्यक परामर्श पाएका छन्। छन्द ‘कालेबाबु’ नारायणी आँखा अस्पताल, बहादुरगंजका बाह्य कार्यक्रम संयोजक हरि भण्डारीका अनुसार, शिविरमा २ सय जना मोतियाविन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ।

शिविरको पहिलो दिन १३० र दोस्रो दिन ७० जना गरी जम्मा २ सय बिरामीको अप्रेसन गरिएको थियो। अप्रेसन पश्चात बिरामीलाई औषधि र चस्मा प्रदान गरिएको भण्डारीले जानकारी दिए।

नगरप्रमुख केशव कुमार श्रेष्ठले आर्थिक रूपमा कमजोर र वृद्ध अवस्थामा रहेका नगरवासीले अस्पतालसम्म पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर यो शिविर आयोजना गरिएको बताए। उनले शिविरले आफ्नो उद्देश्य पूरा गरेकोमा सन्तोष व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएका श्रेष्ठले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सेवाग्राहीहरूले शिविरबाट दृष्टि फिर्ता पाएपछि खुसी व्यक्त गर्दै आफ्नो जीवनमा नयाँ प्रकाश आएको बताए। मोतियाविन्दुको कारण दैनिक जीवनमा झेल्नुपरेका समस्याबाट मुक्त हुँदै पुनः संसार उज्यालो भएको अनुभूति व्यक्त गरेका थिए।

नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम र छन्द ‘कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा बुद्धभूमि नगरपालिकाले आयोजना गरेको यो शिविरले नगरवासीलाई ठूलो राहत प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्