काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारद्वारा कब्जा गरिएको तीनकुनेस्थित व्यक्तिगत जग्गाको मुआब्जा अहिलेसम्म नदिएको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्। कोटेश्वर महोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै मेयर शाहले पचासौँ वर्षदेखि मुआब्जा पाउन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए।
शाहले दुईतिहाइको स्थिर सरकार हुँदा समेत समस्या समाधान नभएकोप्रति आलोचना गर्दै व्यक्तिको जग्गा लुटेर राख्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे। उनले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, तथा स्थानीय सरकार सबै एकै गठबन्धनमा रहेर पनि मुआब्जा विवाद समाधान गर्न नसक्नु अक्षम्य भएको तर्क गरे।
‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै भए पनि समस्या समाधानमा चासो नदेखाउनु विडम्बना हो,’ शाहले भने। उनले यस विषयमा छिट्टै सकारात्मक प्रक्रिया अघि बढाउन आग्रह गर्दै आशावादी सन्देश समेत दिए।