पौष २६ गते । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा दिने घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ का लागि कपिलवस्तुबाट ४ वटा परियोजना प्रारम्भिक सूचीमा परेका छन् । जिल्लाबाट मात्र ४ वटा परियोजना प्रारम्भिक सूचीमा परेका हुन् ।
यसरी छनोटमा परेकाहरुमा सबैभन्दा बढि बाणगंगा नगरपालिकाबाट २ वटा परियोजना रहेका छन् भने कृष्णनगर नगरपालिकामा १ वटा, र मायादेवी गाउँपालिकाको १ वटा परियोजना रहेका छन् ।
बाणगंगा नगरपालिकाबाट छनोटमा परेका बाणगंगा नगरपालिका ३ स्थित हिमालयन कृषि तथा डेरी फर्म र बाणगंगा नगरपालिका ८ स्थित प्रदिप प्रिन्टिर्ङ्ग वल्र्डस् गरि २ वटा परियोजना रहेका छन् । साजन कृषि एकीकृत तथा पशुपंक्षी फर्म, कृष्णनगर नगरपालिका १ र अमल एकीकृत फर्म, मायादेवी गाउँपालिका ६ रहेका छन् ।
कपिलवस्तु बुद्धभूमि, शिवराज, महाराजगंज, कपिलवस्तु नगरपालिका र शुद्धोधन, यशोधरा, बिजयनगरगाउँपालिका परियोजना भने शून्य रहेको छ । यद्यपि, देशभरबाट १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १ सय ५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको छ । अब प्रारम्भिक सूचीमा परेका परियोजना प्रस्तावकबाट प्रस्तुतीकरणको योजना छ । यसका लागि मितिसमेत तय भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले यस वर्ष स्टार्टअप उद्यम कर्जा पाउने छन् ।
प्रतिष्ठानका अनुसार २८ पुस २०८१ देखि प्रस्तुतीकरणको मिति तय भएको छ । हरेक दिन चार चरणमा प्रस्तुतीकरण हुने र एक चरणमा पाँच परियोजना प्रस्तावकबाट प्रस्तुतीकरण लिइने प्रतिष्ठानले जनाएको छ । प्रस्तुतीकरणका लागि एक परियोजनालाई १० मिनेट समय उपलब्ध हुनेछ ।
प्रस्तुतीकरणको ढाँचासमेत सार्वजनिक गरिएको छ । प्रस्तुतीकरणका बेला उद्यम÷व्यवसायको तस्वीर र दृष्यसमेत खिचेर १ मिनेट बराबर भिडियो अनिवार्य लिनुपर्ने गरी तोकिएको छ ।
प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच राखिएको छ भन्नेबारे स्पष्ट पार्नुपर्ने भएको छ । परियोजनाबाट उत्पादित वस्तु र सेवा बिक्रीको बजार सम्भावना, कच्चापदार्थ र त्यसको आपूर्ति, उपलब्ध पूर्वाधार, हालको रोजगारी र सिर्जना हुने संख्यासहित विवरण राख्नुपर्ने भएको छ ।