पौष २७ गते । कपिलवस्तु नगरपालिकामा दुई महिनादेखि हाकिम नहुँदा कार्यालयको सम्पुर्ण कामकाज ठप्प भएको छ । प्रमुख प्रशासकीय अधिृकत खुमलाल भुसाल अध्ययनका लागि काठमाडौं गएपछि नगरपालिका प्रमुख बिहिन भएको हो ।
सरकारले रिक्त पदमा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन नगर्दा कार्यालयका हरेक शीर्षकका कामकाज चौपट भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्तिक २६ गते नगरपालिकामा हाजिर भएका भुसाल लगत्तै अध्ययनको बहाना बनाई काठमाडौं होमिएका थिए । उनी यहाँबाट गएपछि रमाना समेत लिन नआएको र मौखिक जानकारी मात्रै दिएको बुझिएको छ ।
जनप्रतिनिधि नभएको अवस्थामा स्थानीय निकायको सम्पूर्ण अधिकार कर्मचारीलाई प्रत्यायोजन भएको छ । यस्तो अवस्थाामा पनि सरकारले कर्मचारी नपठाउँदा सामान्य भन्दा सामान्य काम लिएर नगरपालिका पुग्ने जो कोही सेवाग्राही रित्तै हात फर्कन बाध्य छन् । कपिलवस्तु नगरमा हाकिमको मात्र होईन अन्य शाखाको कुर्सी पनि लामो समयदेखि प्राय: खाली देखिन्छन् ।
नगरपालिकामा यतिबेला कर असुली र पञ्चिकरणका काम हुने गरेका छन् । यो वाहेक अन्य कुनै काम हाकिम नभएकैले रोकिएका छन् । अहिले नेपालका ७५३ पालिका मध्ये करिब एक सय पालिकामा प्रमुख छैनन् । ‘भनेजस्तो कमाइ नहुने’ वा पालिकाका जनप्रतिनिधीसंगको ‘मनमुटाव’ नै प्रमुख नटिक्ने कारण बनेका छन् । यस्तै मध्यको एक पालिका हो- ‘कपिलवस्तु नगरपालिका’ ।
कपिलवस्तु नगरपालिका बिगत २ महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन अबस्थामा छ । हाकिमको अभावमा सरकारी खाता चलेको छैन् । कर्मचारी तथा शिक्षकहरुले तलब खाएका छैनन् । पुषको महिना योजना सम्झौता गर्ने देखि रकमान्तर गर्ने महिना हो तर हाकिम आएका छैनन् ।
यस्तैगरि, नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता बितरणमा समेत अवरोध सिर्जना भएको छ । जेष्ठनागरिक, एकल महिला, अपांगता भएका ब्यक्ति, बालपोषण, लोपोन्मूख जातजाती लगायतले सासु भत्ता प्राप्त गर्न सकेका छैनन् ।
नगरपालिकाका दैनिक कार्यसंचालनमा अवरोध सिर्जना भएता पनि मन्त्रालयसंग समन्वय गरेर हाकिम ल्याउने प्रयास गरिरहेको नगरपालिकाका प्रमुख सुदीप पौडेल बताउँछन् । हिउँदे नगरसभालाई संचालन गर्न समेत समस्या देखिएको बताउँदै उनले माघ १५ गतेसम्म सम्पन्न गर्ने योजनामा रहेको बताए ।
सरकारले स्थानीय तहमा कर्मचारी पठाउन नसक्नु गैह्रजिम्मेवार कार्यशैली रहेको सरोकारवाला बताउँछन् । मन्त्रालय भित्र मन्त्री र सचिवबीच आन्तरिक बेहेल र द्धन्द्धले स्थानीय तहमा खटाउने प्रशासनिक प्रमुखको खटनपटनमा समेत झमेला सिर्जना भएको छ ।
यता, नगरपालिकामा हाल कार्यरत कर्मचारीहरुले समेत समय पालनालाई ध्यान नदिने गरेको गुनासो बढेको छ । कार्यालय समयमा समेत कर्मचारी अनुपस्थित हुने र कामकारवाहीमा ढिलासुस्ती गर्ने परिपाटीको बिकास भएको जनप्रतिनिधीकै टिप्पणी छ ।
बिकास निर्माण देखि नागरिकको सेवामा प्रत्यक्ष जुट्नुपर्ने पालिका समस्यामा पर्नुमा केन्द्रिय सरकार मुख्य दोषी रहेको सरोकारवालाहरुको भनाइ छ । कर्मचारीमा ब्याप्त सुबिधा भोगी प्रवृत्ति र केन्द्रका उच्च कर्मचारीमा जागेको भ्रष्टाचार मोहको कारण स्थानिय तह प्यारालाइसिस बन्न जाने अवस्थामा रहेको उनीहरुको धारणा छ ।