बाणगंगा, ०२ माघ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले कार्यपालिका बैठकमा बाँकी रहेका योजना तथा कार्यक्रमहरूको सम्झौता छिटो गरी तीव्र कार्यान्वयन गर्न निर्देशन दिएका छन्। जनप्रतिनिधि र कर्मचारीहरूलाई लक्ष्य हासिल गर्न एकजुट भएर काम गर्न आह्वान गर्दै उनले विकास निर्माणका काम पारदर्शी र समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिएका हुन्। प्रमुख अर्यालले नगरको समग्र विकासका लागि गुणस्तरीय र जिम्मेवार काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।
कार्यपालिका बैठक बुधबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै बैठक सम्पन्न गरेको हो ।
बैठकले यही पुस २५ गते सम्पन्न १६औं नगर सभाको सफलताबारे निष्कर्ष निकाल्दै, सो सभा सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, र सरोकारवालाहरूलाई धन्यवाद दिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन्।
बैठकमा आर्थिक वर्ष २०८१/८२ का योजनाहरूको मूल्यांकन गरी बाँकी योजनाहरू समयमै सम्पन्न गर्न तीव्रता दिने निर्णय गरिएको छ। साथै, माघ महिनामा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूबारे पनि निर्णय गरिएको छ। ती निर्णयहरूमध्ये माघ २१ गते वडानम्बर ६ स्थित सुठौली माध्यमिक विद्यालयमा घुम्ती शिविर आयोजना गर्ने, माघ २४ गते वडानम्बर ११ स्थित सामुदायिक भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने, र माघ २८ गते नगरपालिकाको सभाहलमा अर्धवार्षिक समीक्षा कार्यक्रम गर्ने निर्णय महत्त्वपूर्ण छन्।
त्यसैगरी, बैठकले भगीरथी गौ संरक्षण विकास केन्द्रका गतिविधि नगरपालिकाबाट सञ्चालन गर्ने र नगरपालिकाका कार्यपालिका सदस्यहरूलाई उक्त केन्द्रका आजीवन सदस्य बनाउने निर्णय गरेको छ। सोका लागि प्रत्येक सदस्यबाट रु १०,००० शुल्क उठाउने व्यवस्था गरिएको छ। उपप्रमुख रिता कुमारी चौधरीले कार्यक्रमहरूको अनुगमन पारदर्शिताका साथ गरिने भन्दै गुणस्तरीय काम गर्न आग्रह गरिन्।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडाध्यक्ष, तथा कार्यपालिका सदस्यहरूले आफ्ना धारणा प्रस्तुत गर्दै बैठकमा सहभागी भएका थिए।