सचिवदेखि वरिष्ठ उपाध्यक्षसम्मको यात्राः खनाल अध्यक्ष पदका लागि मैदानमा


पालिका पत्र

३ माघ २०८१, बिहीबार ०८:१२ मा प्रकाशित

बाणगंगा, ०२ माघ । कपिलवस्तु जेसिज वर्ष २०२५ का लागि झविन्द्र खनालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । माघ ४ र ५ गते कपिलवस्तु जेसिजको वार्षिक अधिवेशन आयोजना हुने तयारीका बीच खनालले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

खनालले कपिलवस्तु जेसिजमा सचिव, कोषाध्यक्ष, उपाध्यक्ष, र वरिष्ठ उपाध्यक्षको रूपमा विगतमा कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएको अनुभव सुनाउँदै अहिले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । उनले संस्थाको समग्र प्रगति, नेतृत्वको सुदृढता र आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खनालले यसअघि व्यक्तिगत र व्यावसायिक कारणले अध्यक्ष पदमा उम्मेदवारी दिनबाट पछि हटेको स्मरण गराउँदै भने, ” यसपटक भने चुनावमै जाने निर्णय गरेको छु । संस्थाको भविष्यका लागि सशक्त नेतृत्व आवश्यक छ, र मेरो उम्मेदवारी त्यसै उद्देश्यप्रति केन्द्रित छ ।”

खनालले सबै सदस्यहरूसँग सहकार्यको भावना राख्दै सके सर्वसम्मतिले, नभए चुनावमार्फत अध्यक्ष पदमा निर्वाचित गराउन सहयोगको अपिल गरेका छन् ।

जेसिजका सदस्यहरूमाझ खनालको उम्मेदवारीलाई लिएर सकारात्मक प्रतिक्रिया देखिएको छ । उनलाई नेतृत्वमा सक्षम, दूरदृष्टि भएका र संस्थाको विकासमा योगदान गर्न सक्ने व्यक्तिका रूपमा हेरिएको छ ।

माघ ४ र ५ गते हुने अधिवेशनमा अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ । जेसिजका अन्य पदाधिकारीहरूको उम्मेदवारी र भावी योजनाबारे थप चर्चा अधिवेशनका क्रममा हुने आयोजक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्