माघ ६ गते । सदरमुकाम र अन्य क्षेत्रसँगको सेतुका रुपमा रहेको भिक्षुचोक देखि गौढीचोक सम्मको सडक बिस्तारले नयाँ आयाम पाएको छ । निर्माणाधीन अवस्थामा रहेको भिक्षुचोक देखि गौढीचोक सम्मको सर्भिस लेन रोडको बाटो निर्माणको कार्यले तिब्रता पाएको छ ।
उक्त सडक निर्माणमा अवरोधका रुपमा रहेका बिद्युतीय पोलहरु हटाउने बिषयमा सडक डिभिजन कार्यालय शिवपुर र नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रबीच सहमती भएसँगै सडक निर्माणको कार्यले तिब्रता पाएको हो ।
मुख्यतः आनन्दबाग स्थित सडककै बीचमा रहेका बिद्युतीय पोल हटाउने बिषयमा लामो समयदेखि बिवाद कायमै रहेको थियो । उक्त क्षेत्रमा सडक छेऊ रहेका २२ पोल हटाएर किनारमा गाड्ने सडक डिभिजन र बिद्युत प्राधिकरण बिच सहमति भएको छ । निर्माणाधीन ८ सय ५० मिटर सर्भिस लेनको दुबैतर्फ रहेको बिद्युतको पोल नहटाइँदा बाटो निर्माणमा अवरोध सिर्जना भएको थियो ।
माघ ४ गते प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल र कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलको पहलमा सडक डिभिजन प्रमुख सबिन कोईराला र बिद्युत प्राधिकरण तौलिहवाका प्रमुख गौरव पाण्डेय बिच सहमती पछि पोल हटाउने बिषयमा समेत सहमती थालिएको हो ।
पोल सार्न बिद्युत प्राधिकरणले बनाएको २४ लाखको लागत अनुमान अनुसार भुक्तानी दिलाउने डिभिजन प्रमुख कोईरालाले प्रतिबद्धता ब्यक्त गरे पछि पोल सार्ने काम अघि बढाउन लागिएको नेपाल बिद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख पाण्डेयले बताए । पोल सार्न ठेकेदारलाई निर्देशन दिई सकेको र एक दुई दिन भित्रै पोल सार्ने काम सुरु हुने उनले बताए ।
बाटो निर्माण कम्पनी बावुल एनबी जेभिका संचालक नारायण प्रसाद भुसालले पोल सारेको एकमहिना भित्रै दुबै तर्फको सर्भिस लेनको बाटो निर्माण सम्पन्न गर्ने दाबी गरे । निर्माण कम्पनीको तर्फबाट पटक पटक पोल हटाउन आग्रह गर्दा पनि पोल नहटाइदिँदा समस्या देखिएको उनको गुनासो छ । बिद्युतका कारण तौलिहवा बजार अस्तब्यस्त बनेको समेत भुसालको भनाइ छ ।
भिक्षु चोक देखि गौढी सम्मको मुख्य बाटो निर्माण भने अन्तिम चरणमा पुगेको छ । प्राईम कोटको काम सकिएको र अब पिच गर्ने काम मात्र बाँकी छ । मौसमका कारण केही ढिलो भएको र घाम लागे केहीदिन भित्रै सम्पन्न हुने उनले दाबी गरे ।
सडक निर्माणको काम तिब्र भएको र काम गुणस्तरीय भएको स्थानीय रामनिवास यादवले बताए । जिल्ला भित्रका पिपरा–पकडी–चाकरचौडा, जीतपुर–तिलौराकोट–खुनुवा लगायतका सडकको स्तरोन्नती तथा निर्माणका लागि बिश्वबैंकले करिब १८ करोडको लगानी गरेको छ ।