बाणगंगा नदीमा तस्करी, किन मख्ख प्रहरी ?


पालिका पत्र

२० माघ २०८१, आईतवार १७:५१ मा प्रकाशित

कपिलवस्तु, माघ २० गते । बाणगंगा नगरपालिका क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक आयश्रोतको रुपमा रहेको बाणगंगा नदीको नदीजन्य पर्दाथहरुको चोरी तस्करी व्यापक रुपमा बढेर आएको छ । छुटपुट रुपमा हुदै आएको बालुवा चोरी विगत २ महिना देखि संगठित रुपमा हुन थालेपछि स्थानीय सरकार चिन्तित तर सुरक्षाकर्मी हर्षित बनेका छन् ।

बाणगंगाको माथिल्लो भाग मधुबन नाका र तल्लो भाग धनेषपुर, सिसहनिया र बालापुर क्षेत्रबाट रातभरी बालुवा तस्करी हुने गरेको स्थानीयबासीहरु बताउछन् । स्वयं नगरपालिका राजस्व अधिकृत मदन घिमिरे पनि रातीमा बाणगंगा नाकाका विभिन्न क्षेत्रबाट चोरी तस्करी भइरहेको स्वीकार्छन् । “पहिला दिउसै चोरी गर्दथे अहिले राती मात्रै चोर्छन” उनले भने ।

मधुबन क्षेत्रका स्थानीयका अनुसार त्यस क्षेत्रकै ट्याक्टर धनीहरुहरुले नदीजन्य पर्दाथ चोरी गरि स्थानीय क्रेशर तथा बालुवा प्रशोधन केन्द्रहरुमा बुझाउछन् । यसै गरि वडा नं. १ को उप्टा, इमिली नाकाबाट समेत नदीजन्य पदार्थ चोरी हुदै आएको छ । बाणगंगा ७ धनेशपुर सिसनीया र बालापुरबाट समेत केहि ट्याक्टर धनी तथा प्रहरी घुमुवाको मिलेमतोमा चोरी भइरहेको बताइन्छ ।

शुक्रबार राती मात्रै मधुबन क्षेत्रमा ९ वटा ट्याक्टर र धनेषपुरमा ७ वटा ट्याक्टरको समूहले रातभरी बालुवा चोरी गरेको स्थानीयबासीहरु बताउछन् ।“रातभरी ट्याक्टरको हल्लाले सुत्न पाइदैन, प्रहरीलाई खबर गरयो अर्को दिन तस्करहरु नै आएर उल्टै थर्काउछन्” एक स्थानीयले भने ।

बालुवा तस्करीमै आबद्ध श्रोतका अनुसार नेपाल प्रहरी तथा शशस्त्र प्रहरी संग लाइन मिलाएरै काम चलिरहेको छ । “यहा त तीन महिना देखि काम चलिरहेको छ, कुन दिन कति बजे देखि कति बजे सम्म गाडी हाल्ने हो प्रति गाडी कति दिने सबै फाइनल भएर मात्र काम हुन्छ” ट्याक्टर चालकले भने । उनका अनुसार साहुहरुले नेपाल प्रहरीलाई प्रति ट्रिप १५ सय र शशस्त्र लाई १ हजारको दरले दिने गर्दछन् ।

नेपाल प्रहरी पिपराका घुमुवा हवल्दार तेज बहादुर कुँवर तथा शशस्त्रका हवल्दार नबिन रेश्मी मार्फत रकम सम्बन्धित निकायमा पुग्ने गरेको समेत उनले खुलासा गरे । प्रहरी निरिक्षक लोकेन्द्र जिसी स्वयंले समेत केहि स्थानमा शान्ति सुरक्षा छाडेर प्रहरी नदीजन्य पर्दाथ चोरी रोक्न नलाग्ने भन्दै पन्छिने गरेको समेत स्थानीयको आरोप छ ।

तत्कालिन प्रहरी निरिक्षक गोपाल रायमाझी हुदा अधिक नियन्त्रणमा आएको बालुवा चोरी तस्करी र लागू औषध कारोबार अहिले दुबै फितलो भएको बाणगंगाबासीको दाबी छ ।

बाणगंगा नगरपालिका राजस्व अधिकृत मदन घिमिरे पनि सुरक्षाकर्मीबाट सहयोग नपाएको गुनासो गर्छन । “साउन यता ४ जना नगरप्रहरी लिएर हामीले ८ वटा ट्याक्टर र एउटा जेसिभी समात्यौ तर दिनहु गस्ती गर्ने प्रहरीले अहिले सम्म जम्मा २ वटा ट्याक्टर बुझाएको छ” उनले भने ।

बुटवल–गोरुसिंगे सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पर्दाथका लागि बाणगंगा नदीको उत्तरी भाग ठेकेदार पक्षलाई दिने भनी नगरपालिकाको १६औ नगरसभाबाट पारित भएसंगै ढुंगा,गिटी, बालुवा चोरी तस्करी अझ बढेको छ । नदी नै बाटो निर्माण कम्पनिलाई ठेक्कामा दिने भएपछि आफुहरुको काम प्रभावित हुने आशंकामा स्थानीय केहि क्रेशर , बालुवा प्रशोधन उद्योग तथा व्यवसायीहरुले धमाधम चोरीका नदीजन्य पर्दाथ किन्न थालेपछि यसको तस्करी बढेको स्थानीय बताउछन् । (आवश्यक प्रमाणहरु सुरक्षित छन् )

प्रतिक्रिया दिनुहोस्