ताल संरक्षण र प्रवद्र्धनका लागि दीर्घकालीन नीति आवश्यक : राज्यमन्त्री बिक


पालिका पत्र

२१ माघ २०८१, सोमबार ०७:१५ मा प्रकाशित

कपिलवस्तु, माघ २१ । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा चराहरूको राजधानी मानिने जगदीशपुर तालमा २९औं विश्व सिमसार दिवस तथा १२औं चरा महोत्सव सम्पन्न भएको छ । तालको कार्यालय परिसरमा आयोजित महोत्सवको उद्घाटन गर्दै संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा बिकले तालको संरक्षणका लागि दीर्घकालीन रणनीतिक योजना आवश्यक रहेको बताइन् ।

उनले जैविक विविधता संरक्षण, पर्यावरणीय सन्तुलन तथा पर्यटन प्रवद्र्धनलाई ध्यानमा राख्दै सिमसारको दिगो व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरिन् । तालको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि सरकार, स्थानीय समुदाय, सरोकारवाला निकाय र वातावरणविद्हरूको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले तालको महत्वलाई प्रचारप्रसार गर्न आवश्यक रहेको बताउँदै पर्यटकीय पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे । उनले तालमा आउने पर्यटकलाई आकर्षित गर्न थप प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । ताललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रविधि र डिजिटल माध्यमको प्रभावकारी उपयोग आवश्यक रहेको उनको धारणा थियो ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले ताल संरक्षणका लागि स्थानीय तहको पहल अपरिहार्य रहेको बताए । उनले स्थानीय संस्कृति झल्काउने इको टुरिज्म प्रवद्र्धन, पर्यटकहरूका लागि स्थानीय उत्पादनहरूको प्रदर्शन तथा बिक्री स्थल निर्माण, र स्थानीय समुदायलाई पर्यटन व्यवसायमा संलग्न गराउने नीति आवश्यक रहेको औंल्याए । यदि ताललाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सकियो भने यसले आर्थिक, सामाजिक र वातावरणीय लाभ दिने उनले बताए ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य गीता अञ्जानले जगदीशपुर तालको जैविक विविधता संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताइन् । उनले स्थानीय समुदायको सक्रिय सहभागिता बिना दीगो संरक्षण सम्भव नभएकाले संरक्षणका कार्यक्रमहरूमा उनीहरूको भूमिकालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी सन्तबहादुर थिङ्गले रामसार सूचीमा सूचीकृत यस तालको दीर्घकालीन संरक्षणका लागि संघीय सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । उनले अवैध गतिविधिहरू नियन्त्रण, जलचर तथा वनस्पतिको संरक्षण, सफाइ व्यवस्थापन, स्थानीय समुदायको संलग्नता वृद्धि तथा पर्यटन विकासलाई समेट्ने नीति आवश्यक रहेको उल्लेख गरे ।

नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालले जगदीशपुर ताल लाखौँ चराहरूको लागि सुरक्षित आश्रयस्थल रहेको बताए । उनले जाडो मौसममा विभिन्न देशबाट हजारौँ चरा यहाँ बसाइँ सर्ने गरेको जानकारी गराउँदै यसपालि तीसभन्दा बढी प्रजातिका चराहरू ताल क्षेत्रमा देखिएको बताए । उनले दुर्लभ तथा लोपोन्मुख प्रजातिका चराहरूको उपस्थिति समेत दर्ता गरिएको जानकारी गराए ।

स्थानिय संरक्षणकर्मीहरूले ताल क्षेत्रको दीर्घकालीन संरक्षणका लागि सामुदायिक सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । उनीहरूले अवैध सिकार तथा मानवजनित हस्तक्षेप रोक्न प्रभावकारी उपाय अपनाउन सरकारसँग आग्रह गरेका छन् ।

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चको आयोजना तथा डिभिजन वन कार्यालय कपिलवस्तु, नेपाल पंक्षी संरक्षण संघ काठमाण्डौं र तिलौराकोट साझेदेरी वन उपभोक्ता समूहको सहयोगमा महोत्सव सम्पन्न भएको थियो ।

महोत्सवमा विभिन्न तहका जनप्रतिनिधि, वातावरणविद्, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्