राहत र उद्धारमा जुट्न कपिलवस्तु उद्योग वाणिज्य संघको आग्रह


पालिका पत्र

27 August, 2026 9:36 pm मा प्रकाशित

कपिलवस्तु, ११ भदौ । रसुवा जिल्लाको टिमुरे तथा रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति कपिलवस्तु उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै विपद्मा परेकाहरूको उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन नागरिकहरूको सकुशल उद्धारका लागि समेत आग्रह गरेको छ ।

संघका अनुसार पछिल्लो उपलब्ध विवरणअनुसार विनाशकारी बाढी तथा पहिरोमा परी नेपालमा २७० भन्दा बढी नागरिकको मृत्यु भएको तथा ६०० भन्दा बढी अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । विपद्का कारण सयौँ नागरिक घाइते हुनुका साथै घर, सडक, पुल, व्यापारिक प्रतिष्ठान, सवारीसाधनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको संघले जनाएको छ । विशेषगरी रसुवागढी भन्सार क्षेत्र तथा सीमा व्यापारमा समेत गम्भीर असर परेको बताइएको छ ।

विपद्को जोखिम अझै कायम रहेको र थप बाढी, पहिरो तथा नदीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सम्बन्धित निकायबाट जारी सुरक्षा तथा सतर्कतासम्बन्धी सूचनाको पूर्ण पालना गर्न संघले सबै नागरिकलाई आग्रह गरेको छ ।

त्यस्तै, विपद्मा परेका घाइते तथा प्रभावित नागरिकको तत्काल उद्धार गरी आवश्यक स्वास्थ्य सेवा, औषधि तथा प्रभावकारी उपचारको व्यवस्था गर्न संघले अपिल गरेको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघले यस्तो कठिन परिस्थितिमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, संघसंस्था, व्यवसायी तथा आम नागरिकबीच आपसी एकता, सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ ।

संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले विपद्को यस घडीमा कपिलवस्तु उद्योग वाणिज्य संघबाट समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघमा आबद्ध सम्पूर्ण उद्योगी–व्यवसायीलाई एकताबद्ध भएर विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफूले सक्ने सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्