माघ २२ गते । आजदेखि कपिलवस्तु सहित देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सुरु भएको छ । पाठेघर क्यान्सर नियन्त्रणका लागि कपिलवस्तु जिल्लाका झण्डै ४५ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको हो ।
१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई माघ २२ देखि फाल्गुण ६ गतेसम्म सञ्चालन हुने खोप अभियान मार्फत खोप दिने तयारी गरिएको छ ।
जिल्लाका ४४ हजार ४७१ किशोरीलाई खोप दिने लक्ष्य राखिएको कपिलवस्तु स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जानकारी दिए । तीमध्ये विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ३६ हजार ७५६ किशोरी र विद्यालयबाहिर रहेका ७ हजार ७१४ किशोरी रहेका छन् ।
अभियान सफल बनाउन ५७३ खोप केन्द्र स्थापना गरिएको छ । प्रत्येक केन्द्रमा एकजना भ्याक्सिनेटर र दुईजना स्वयम्सेवक रहने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले बताए ।
खोप अभियान दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा माघ २२ देखि २८ गतेसम्म कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका तथा विजयनगर र यशोधरा गाउँपालिकाका विद्यालयहरूबाट खोप लगाइनेछ ।
दोस्रो चरणमा माघ २९ देखि फाल्गुण ६ गतेसम्म वाणगंगा, बुद्धभूमि, महाराजगञ्ज नगरपालिका तथा मायादेवी र शुद्धोधन गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
विद्यालयमा एकजना महिला स्वयंसेविका र एकजना शिक्षिका खटाइने योजना रहेको छ । महिलाहरूमा हुने पाठेघर क्यान्सर विश्वभर नै गम्भीर जनस्वास्थ्य समस्या मानिन्छ । नेपालमा क्यान्सरका कारणले हुने महिलाको मृत्युमा पाठेघर क्यान्सर पहिलो स्थानमा छ ।
एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो। यो भाइरसका २०० भन्दा बढी प्रकार छन्, जसमा १२ प्रकार क्यान्सर गराउने मुख्य कारक मानिन्छन् । विशेषगरी १६ र १८ प्रजातिका भाइरस नेपालमा ८० प्रतिशत क्यान्सरका घटनामा जिम्मेवार मानिन्छन् ।
नेपाल सरकारले नियमित कार्यक्रम र विशेष अभियानमार्फत देशभर १६ लाख ८८ हजार ७६८ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखेको छ। लुम्बिनी प्रदेशमा मात्र दुई लाख ९९ हजार ४७१ किशोरीलाई खोप लगाइनेछ।
एचपिभी भाइरस के हो ?
एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण हो। यो भाइरसका २०० भन्दा बढी प्रकार हुन्छन् । तीमध्ये १६ र १८ प्रजाति सबैभन्दा घातक मानिन्छन् । नेपालमा हरेक दिन औसतमा चार महिलाको मृत्यु पाठेघर क्यान्सरका कारण हुने गरेको छ ।
यसैबीच, पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एपीभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सृष्टि श्रेष्ठ प्रजापतिले बताइन् । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिइन् । उनका अनुसार एपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ ।
विश्वमा यसको सफल परीक्षण भइसकेकाले यो खोप सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुने लगायत गलत बुझाइ भएकाले ढुक्क भएर खोप लगाउन डा.प्रजापतिले आग्रह गरिन् ।
नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।