प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै वडाध्यक्षद्धारा ज्ञापनपत्र पेश


पालिका पत्र

२२ माघ २०८१, मंगलवार १३:५३ मा प्रकाशित

माघ २२ गते । कपिलवस्तु नगरपालिकाको कार्यालयमा विगत २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको कारण विभिन्न विकास निर्माण कार्यहरू प्रभावित भएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका बिविध कामकारवाही रोकिन गई असहजता पैदा भएको अवस्थामा नगरका १२ जना वडा अध्यक्षहरूले जिल्ला प्रशासन कार्यालय मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगर विकास निर्माण कार्य, सामाजिक विकासको कार्य, सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीहरूको तलब सुविधा, र योजनाहरूको सम्झौता लगायतका कार्यहरू पूर्ण रूपमा रोकिएका छन् । यसबाट स्थानीय नागरिक, कर्मचारी र सरोकारवालाहरू समेत समस्यामा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

वडा अध्यक्षहरूले यस समस्याको समाधानका लागि यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरिदिन मन्त्रालयसँग माग गरेका छन् । ज्ञापनपत्रमा मोहम्मद जाहिद खाँ, अशोक कुमार गुप्ता, रुद्र बहादुर गैरे, रामजीत प्रसाद कुर्मी, इन्द्रमणी कुर्मी, शिवकुमार पाण्डेय, मोहनलाल शर्मा, इन्सान अलि धुनिया लगायतका वडा अध्यक्षहरूको हस्ताक्षर रहेको छ ।

यो समस्याले कपिलवस्तु नगरपालिकाको समग्र प्रशासनिक र विकास कार्यमा गम्भीर असर परेको छ। स्थानीय जनप्रतिनिधिहरूले यस विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल समाधानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्