बस पार्क निर्माणदेखि ट्रेड टावरसम्म: तुलसीपुरको विकास यात्रा


पालिका पत्र

३ फाल्गुन २०८१, शनिबार २०:५५ मा प्रकाशित

दाङ,३ फागुन ।
नगर विकास कोषको ३१औं वार्षिकोत्सवको अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका सम्मानित भएको छ । कोषमार्फत आयोजना गरिएका कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन तथा व्यवस्थापन गर्न तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको हो ।


उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्कालाई सम्मान पत्रले सम्मान गरेका थिए ।


नगर विकास कोषले नगरपालिकाको उत्तरोत्तर प्रगति र विकासका कामहरूको उच्च मूल्यांकन गर्दै तुलसीपुर उपमहानगरपालिकालाई कदरपत्र प्रदान गरेको हो। उक्त सम्मान नगरपालिकाले सफल योजनाबद्ध कार्यान्वयन, नागरिकमैत्री सेवा प्रवाह तथा समग्र नगर विकासमा पुर्‍याएको योगदानलाई ध्यानमा राख्दै प्रदान गरिएको हो। नगर विकास कोषका कार्यकारी निर्देशक सहित शहरी विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो।


तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाहरूले यो उपलब्धिलाई गर्वका साथ लिएका छन् । नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी विकास कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कोषमार्फत पालिकाले बस पार्क निर्माण गरेको छ भने तुलसि ट्रेड टावर निर्माण अन्तिम चरणमा पुगेको नगरप्रमुख टीकाराम खड्काले बताए । कोषमार्फत् पालिकाभित्र खानेपानी आयोजनासमेत सुरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्