बाणगङ्गामा मालपोत तथा नापी कार्यालय स्थापना, सेवा प्रवाह सुरु


४ फाल्गुन २०८१, आईतवार १७:१४ मा प्रकाशित

बाणगङ्गा, ०४ माघ । बाणगङ्गा नगरपालिका–८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको छ । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मन्त्री अधिकारीले स्थानीयवासीलाई अब जग्गा नापजाँच, नामसारी, धनीपुर्जा प्रमाणीकरण जस्ता सेवाहरू सहज रूपमा उपलब्ध हुने बताएका छन् । साथै, उनले सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले सरकारी सेवाहरू जनताको पहुँचमा ल्याउने सरकारको नीति अनुरूप कार्यालय स्थापना गरिएको बताउँदै भूमिसम्बन्धी अनियमितता, ढिलासुस्ती तथा विचौलियाको भूमिकामा कडाइ गर्न निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले स्थानीय तहमा कार्यालय स्थापना हुनु ठूलो उपलब्धि भएको बताउँदै सेवा प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखिन् । उनले भूमि सुधार नीतिहरू कार्यान्वयन गर्न मालपोत तथा नापी कार्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।

प्रदेशसभा सांसद गिरिधारीलाल न्यौपानेले कार्यालय सञ्चालन भएसँगै स्थानीयवासीलाई सहज र छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले भूमि व्यवस्थापनमा देखिएको जटिलता समाधान गर्न र जनतालाई प्रभावकारी सेवा दिन कार्यालयलाई आवश्यक सबै सहयोग प्रदान गरिने बताए ।

त्यसैगरी, बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कार्यालय स्थापनाले स्थानीयवासीलाई धेरै राहत मिल्ने बताउँदै सेवाग्राहीलाई छिटो र सरल सेवा दिन कर्मचारीहरूलाई निर्देशित गरे । साथै, उनले भविष्यमा थप सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नगरपालिकाको तर्फबाट कार्यालयलाई आवश्यक सहयोग तथा समन्वय गर्न सधैं तत्पर छौं ।”

कार्यालय सञ्चालनको पहिलो दिन बाणगङ्गाका दुइ जनाले सेवा लिएका छन् । सेवाग्राहीहरूले कार्यालय स्थापना भएसँगै अन्यत्र जानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरेका छन् ।

स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको उद्घाटन समारोहमा सहभागीहरूले नयाँ कार्यालय स्थापनाले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेका छन् ।

यसरी, बाणगङ्गामा मालपोत तथा नापी कार्यालय स्थापनासँगै स्थानीयवासीले प्रत्यक्ष रूपमा लाभ लिन थालेका छन् । अब उनीहरूलाई समय र खर्चको बचत हुनेछ, जसले सेवा सहज र प्रभावकारी बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्