![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2025/02/IMG_5672.jpg?fit=1200%2C720&ssl=1)
बाणगङ्गा, ०४ माघ ।
बाणगङ्गा नगरपालिका वडा नम्बर ८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय सञ्चालनमा आएको छ । कार्यालय उद्घाटनसँगै स्थानीयवासीले प्रत्यक्ष रूपमा सेवा लिन थालेका छन् ।
आइतबार औपचारिक रूपमा उद्घाटन भएको कार्यालयबाट पहिलो दिन दुई सेवाग्राहीले सेवा लिए । पहिलो सेवाग्राहीका रूपमा बाणगङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णु प्रसाद पौडेलले सेवा लिए भने, दोस्रो सेवाग्राही शितगङ्गा नगरपालिका वडा नं. १० का गणेश विक रहे । विकले बाणगङ्गामा जग्गा खरिद गरेपछि सेवा लिएका थिए ।
यसअघि मालपोत तथा नापीसम्बन्धी सेवाका लागि तौलिहवा जानुपर्ने बाध्यता रहेकोमा नयाँ कार्यालय खुलेपछि स्थानीयवासीले राहत महसुस गरेका छन् । कार्यालय स्थापना भएपछि सेवाग्राहीहरू अब छिमेकी सहरहरूमा धाउनु नपर्ने भन्दै खुशी व्यक्त गरेका छन् ।
स्थानीय नागरिकहरूले मालपोत तथा नापी कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै सरकारले सेवाप्रवाहलाई थप सहज बनाएकोमा धन्यवाद दिएका छन् । स्थानीय तहमा यस्ता कार्यालय सञ्चालन गर्दा जनतालाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने उनीहरूको भनाइ छ ।
यस कार्यालय स्थापनासँगै मालपोत तथा नापीसम्बन्धी सबै काम स्थानीय स्तरमै सम्पन्न गर्न सकिने भएको छ । सेवाग्राहीहरूले अब समय, श्रम र आर्थिक खर्च बचत हुने भएकाले कार्यालय प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।