बाणगङ्गाको  एक फेन्सीमा भारतीय रुपैयाँको अवैध कारोबार, ९ लाख भारुसहित चार जना पक्राउ


पालिका पत्र

२३ फाल्गुन २०८१, शुक्रबार ११:४५ मा प्रकाशित


जितपुर, २३ फागुन ।
कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ठूलो मात्राको रकमसहित चार जनालाई पक्राउ गरेको छ । बाणगङ्गा नगरपालिका – ४, जितपुरस्थित केसी फेन्सी पसलको भूमिगत कोठाबाट शङ्का लागेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहत इलाका प्रहरी कार्यालय पिपराको टोलीले विहीवार  राति ९ः४५ बजे चारनम्बर चोकमा रहेको केसि फेन्सी पसलमा छापा मारेको थियो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा उक्त पसलको भूमिगत कोठामा भारतीय रुपैयाँको अवैध कारोबार भइरहेको आशंकामा छानबिन गरिएको हो ।

प्रहरीले उक्त स्थानबाट स्रोत नखुलेको भारतीय तथा नेपाली नगद गरी कुल २८ लाख १० हजार रुपैयाँ बरामद गरेको छ। बरामद रकममध्ये ९ लाख भारतीय रुपैयाँ रहेको छ भने नेपाली १९ लाख १० हजार रुपैयाँ फेला परेको छ। भारतीय रुपैयाँको नोटहरू ५०० दरका १,८२१ थान रहेका छन् । नेपाली रुपैयाँमा १,००० दरका १४,३९१ थान र ५०० दरका ९७१ थान रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क – ५ का ३० वर्षीय गोविन्द बिक, कपिलवस्तु मायादेवी गाउँपालिका – ८ का ३८ वर्षीय सोजनाथ कसौधन, बुटवल – १६ का ४१ वर्षीय बसन्त खरेल, र कपिलवस्तु नगरपालिका– ११ का ४२ वर्षीय शेषनारायण गिरी रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका चारै जनामाथि विस्तृत अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन तथा स्रोत नखुलेको रकमको विषयमा अनुसन्धान गर्न आन्तरिक राजस्व कार्यालय रूपन्देहीमा पत्राचार गरिएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहन मणि अधिकारी का अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप छानबिन भइरहेको छ। प्रहरीले उक्त रकम अवैध कारोबार वा अन्य कुनै आपराधिक गतिविधिमा प्रयोग भएको हुन सक्ने आशङ्का गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्