बुटवल – गोरुसिङ्गे सडकः निर्माण कार्य द्रुत गतिमा, हालसम्म २.२१ प्रतिशत प्रगति

सडक निर्माणमा मुख्य चुनौती: संरचना हटाउने, ट्राफिक व्यवस्थापन, वातावरणीय असर


२५ फाल्गुन २०८१, आईतवार १९:५४ मा प्रकाशित

बाणगंगा, फागुन २५ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले बुटवल –  गोरुसिङ्गे सडक स्तरोन्नति कार्यलाई तीव्रता दिएको छ । उक्त योजना अन्तर्गत ५० किलोमिटर लामो सडकलाई शहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनमा स्तरोन्नति गरिनेछ ।


विश्व बैङ्कको ९२ प्रतिशत र नेपाल सरकारको ८ प्रतिशत लगानी रहेको यस योजनाले पूर्वपश्चिम राजमार्गमा यातायात प्रवाह सुधार गर्ने लक्ष्य लिएको छ । हाल बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति कार्य दुई ठेक्कामा विभाजन गरिएको छ ।


खण्ड एक (बुटवल – कोठीनदी पुल, २५ कि.मी.) र खण्ड दुई ( कोठीनदी पुल– गोरुसिङ्गे, २५ कि.मी.) अन्तर्गत विभिन्न पूर्वाधार निर्माण भइरहेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभिले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । हालसम्म ३३३४ रूखमध्ये ३१८९ रूख कटान भइसकेका छन्, पुल निर्माण कार्य अघि बढिरहेको छ, र ४ किलोमिटर क्षेत्रमा क्लियरिङ तथा ग्रबिङ कार्य सम्पन्न भएको छ ।


योजना कार्यान्वयनका क्रममा सडक सीमाभित्रकै संरचना हटाउने, विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण, ट्राफिक व्यवस्थापन, तथा वातावरणीय प्रभाव व्यवस्थापन जस्ता चुनौतीहरू छन् । सडक निर्माण गुणस्तरमा कुनै सम्झौता नगर्नका लागि साइट क्लियरेन्स, आवश्यक जनशक्ति, उपकरण, र निर्माण सामग्री सुनिश्चित गर्ने प्रयास भइरहेको छ ।


योजनाको प्रगति, चुनौती र आगामी योजना बारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय, तौलिहवामा आइतबार एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले समयमै निर्माण कार्य सम्पन्न गरी उदाहरण पेश गर्न आग्रह गरे । उनले सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेकोमा जोड दिए ।


योजना प्रमुख इञ्जिनीयर कुशलता न्यौपानेले हालसम्मको निर्माण प्रगतिबारे जानकारी दिँदै आगामी कार्ययोजनाका विषयमा प्रकाश पारेकी छन् । उनका अनुसार निर्माण कार्य निर्धारित मितिभित्र सम्पन्न गर्न आवश्यक समन्वय र स्रोत साधन परिचालन भइरहेको छ ।  उनले हाल सम्म २.२१ प्रतिशत प्रगति भएको जानकारी दिइन । उनले निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको बताइन् । न्यौपानेले हालसम्म भएका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी दिनमा कार्यहरू द्रुत गतिमा अघि बढाइने स्पष्ट पारिन् । निर्माण कार्य समयमा नै सम्पन्न गर्नका लागि प्राविधिक जनशक्ति, आवश्यक स्रोत साधन तथा अन्य पूर्वाधारको व्यवस्थापन भइरहेको उनले उल्लेख गरिन् ।


योजनाअन्तर्गतका कार्यहरूलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गरी अघि बढ्ने योजना समेत उनले सुनाइन् । छलफलमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, वडा अध्यक्षहरू, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ तथा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । योजना समयमै सम्पन्न गर्न सरकारी निकाय, ठेकेदार, तथा स्थानीय सरोकारवालाहरूको निरन्तर सहयोग आवश्यक रहेको औल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्