सहरी योजना र पूर्वाधारमा उत्कृष्ट, सिद्धार्थनगर नगरपालिका पुरस्कृत


पालिका पत्र

८ चैत्र २०८१, शनिबार १८:४२ मा प्रकाशित

रुपन्देही, ०९ चैत। सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रहरूमा प्रभावकारी कार्य सम्पादन गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्ये उत्कृष्ट बन्न सफल भएको छ । नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै सिद्धार्थनगरलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्रदान गरेको हो ।

सङ्घको ३२ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उक्त पुरस्कारले सम्मानित गरे ।

सङ्घले नगरपालिकाहरूको विभिन्न सूचकहरू मूल्याङ्कन गरी हरेक वर्ष उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गर्दै आएको छ। उक्त आधारमा सिद्धार्थनगरले ८५ प्रतिशत अङ्क हासिल गर्दै उत्कृष्ट घोषित भएको हो ।

नगरप्रमुख खाँले यो सफलतामा सबै नगरवासी, कर्मचारी र सरोकारवालाहरूको योगदान रहेको बताउँदै आगामी दिनमा सबै सूचकाङ्कमा सर्वोत्कृष्ट बन्ने गरी कार्य गर्ने प्रतिवद्धता जनाए । यातायात व्यवस्थापन, सहरी योजना तथा खानेपानी सेवामा समेत नगरपालिका अग्रणी रहेको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्