
बाणगंगा, १२ चैत्र । कपिलवस्तु प्रहरीले आठ महिनामा ८४ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको बताएको छ । चालु आर्थिक वर्षको साउनयता ८४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
सबैभन्दा धेरै ब्राउन सुगरसहित ५२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २२१.८८२ ग्राम ब्राउनसुगर बरामद गरिएको अधिकारीले बताए । यस्तै १६८ ट्याबलेट नाइट्राभेटसहित ९ जना पक्राउ परेका छन् भने १७ किलो २५४ ग्राम चरेससहित ६ जना पक्राउ परेका छन् । ४४ किलो ७१ ग्राम गाँजासहित पाँचजना, ६६ क्यापसुल स्पास्मोसहित तीनजना, ९,१३,६४३ क्याप्सुल ट्रमाडोलसहित दुईजना, फेनरामाइन इन्जेक्सान ९३ एम्पुलसहित दुईजना र एम्पुलेक्स ९२७ ट्याबलेटसहित एकजना पक्राउ परेका छन् ।
फागुनमा मात्रै १० जना लागुऔषधसहित पक्राउ परेका प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई प्रहरीले लागुऔषध नियन्त्रण ऐनबमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जनाएको छ ।
प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानका क्रममा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थसमेतको अवैध कारोबारमा संलग्न अभियुक्त जिल्लामा धमाधम पक्राउ परिरहेका छन् ।
प्रहरीले नागरिकसँगको सहकार्यमा अभियानमार्फत लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताए । प्रहरीका अनुसार विश्वव्यापी समस्याको रूपमा रहेको लागऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ ।