
गुल्मी, चैत १२ । गुल्मीको छत्रकोट गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। शिक्षा समितिको निर्णयअनुसार ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख ५१ हजार, ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ५१ हजार र ३.८० देखि ३.८९ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ ।
यस वर्ष छत्रकोट गाउँपालिकाका दुई परीक्षा केन्द्रबाट १०५ छात्रा र १२२ छात्र गरी २२७ विद्यार्थीले एसईई परीक्षा दिएका छन् । अघिल्लो वर्ष २९७ विद्यार्थी र त्यसअघि ३५३ विद्यार्थी परीक्षा सहभागी भएका थिए ।
गाउँपालिकाले विगतदेखि नै २.८ जिपिए ल्याएर सामुदायिक विद्यालयमा प्लस टु पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति तथा स्नातक तहसम्म अध्ययन गर्नेलाई समेत पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।