चिल्ड्रन्ज प्यारडाईसको वार्षिकोत्सव तथा नतिजा प्रकाशन सम्पन्नः गुणस्तरीय शिक्षामा जोड


पालिका पत्र

२७ चैत्र २०८१, बिहीबार २०:५५ मा प्रकाशित

बाणगङ्गा, २८ चैत्र ।
बाणगङ्गा नगरपालिका वडा नं. ८ स्थित चिल्ड्रन्ज प्यारडाईस ईङ्गलिश बोडिङ स्कुलको अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिहिवार मायादेवी रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको हो। विद्यालयले ”संस्कार सहितको सार्थक शिक्षा” भन्ने नारालाई अङ्गिकार गरेको छ

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सरकारले गुणस्तरीय शिक्षाको प्रवाहका लागि निरन्तर प्रयास गरिरहेको बताउँदै विद्यालयको नतिजा जिल्लामै उत्कृष्ट रहेको उल्लेख गरिन् । साथै उनले विद्यार्थीहरूमा नैतिक शिक्षाको पनि आवश्यकता औंल्याउँदै समाज र समय सुहाउँदो शिक्षामा जोड दिन आग्रह गरिन् । उपाध्यक्ष घिमिरेले पछिल्लो समय नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति बढेको उल्लेख गर्दै, विदेशमा आर्जित ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रममा बाणगङ्गा वडा नं. ८ का अध्यक्ष बाबुराम अर्यालले बोर्डिङ स्कुलहरूले शिक्षण प्रणालीमा अझ सुधार नगरे अभिभावकले सरकारी विद्यालय रोज्ने अवस्था आउने बताए । उनले निजी विद्यालयबीचको प्रतिस्पर्धाले विद्यार्थीको हित भन्दा व्यवसायमुखी सोच हावी हुने सम्भावना रहेको भन्दै सहकार्यमा जोड दिए ।

विद्यालयका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अध्यक्ष विष्णु प्रसाद अर्यालले विद्यालयले विभिन्न चुनौतीका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा अभिभावक, शिक्षक, विद्यार्थीप्रति आभार व्यक्त गरे। उनले भविष्यमा पनि विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा कुनै कमी नहुने प्रतिवद्धता जनाए ।

प्रधानाध्यापक केशव सापकोटाले अभिभावकको साथ, सहयोग र विश्वासले विद्यालयलाई आजको अवस्थामा पुर्‍याउन सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले आगामी शैक्षिक सत्रदेखि शिक्षालाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरू ल्याइने जानकारी दिए ।

कार्यक्रममा दूर शिक्षाका कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेले प्रविधिमा थप सहयोग गर्ने बताए। देवदह मेडिकल कलेजले कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार पूर्खे बा र महेन्द्र बेल्बासेलेले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयको आगामी वर्षको कक्षा आगामी वैशाख ७ गते बाट हुने प्राचार्य सापकोटाले बताए ।

कार्यक्रममा विभिन्न श्रेणीमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा प्रतिभा प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रम शिक्षिका सविता सापकोटाको स्वागत मन्तव्य र बुद्ध गौतमको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्