
बाणगंगा, चैत्र ३० । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित एक रायमाझी परिवारले विद्यालयमा एक लाख बढी रकमको अक्षयकोष स्थापना गरेका छन् । बाणगंगा ९ निवासी धुव्रबहादुर रायमाझीका परिवारले जिनुवा स्थित शुद्धोदन जनजीवन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन ।
रायमाझी परिवारले विद्यालयले मनाइरहेको स्वर्ण महोत्सवको समापन कार्यक्रमका अवसरमा उक्त अक्षयकोषको घोषणा गरेका थिए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने उद्देश्य सहित रायमाझी परिवारले तुल्सीदेवी तथा खिम बहादुर रायमाझी प्रतिष्ठानबाट एक लाख एक हजार एकसय एघार रकमको अक्षयकोष स्थापना गरेका हुन ।
आफ्ना आमा र बुवाको नामबाट स्थापित अक्षयकोष स्थापना गर्दै उनले आफ्नो परिवारबाट दिदी तारा रायमाझी, निर्मला रायमाझी र आफुले सहित तथा भाई बसन्त रायमाझीले पनि अध्ययन गरेको विद्यालय भएकाले विद्यालयको एउटा खुसीको दिनमा अक्षयकोष स्थापना गर्ने अवसर मिलेको धुव्र रायमाझीले बताए ।
यो अक्षयकोषबाट विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष केहि सहयोग होस भनेर प्रतिष्ठानको नामबाट अक्षयकोष राख्न पाउदा गौरवको अनुभव भएको उनले बताए ।
उक्त अक्षयकोषको रकम रायमाझी परिवारले विद्यालयका प्रधानाध्यापक अनिता कडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमनसिंह थापालाई हस्तान्त्रण गरिएको थियो भने अक्षयकोष दाता तुल्सादेवी रायमाझी र खिम बहादुर रायमाझीलाई दोसल्ला ओढाइ सम्मान समेत गरेको छ ।