बाणगंगा, ०५ जेठ ।
कपिलवस्तु जिल्लाका १० वटा स्थानीय तहमा कुल १८ करोड २४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखापरीक्षकको त्रिसठ्ठीऔं बार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष ०८१/०८२ को बेरुजु सार्वजनिक भएको हो ।
कुल १९ अर्ब ७३ करोड ६१ लाख २८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा उक्त रकम बेरुजु देखिएको तथ्यांक सार्वजनिक भएको हो । जिल्लाको औसत बेरुजु प्रतिशत ०.९२ प्रतिशत रहेको छ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी बेरुजु रकम यशोधरा गाउँपालिका मा देखिएको छ । यशोधरामा १ अर्ब ३९ करोड ३९ लाख ९ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ४ करोड ५१ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.१७ प्रतिशत हो ।
त्यसैगरी विजयनगर गाउँपालिका मा १.७६ प्रतिशत, शुद्धोधन गाउँपालिका मा १.२० प्रतिशत तथा मायादेवी गाउँपालिका मा १.०५ प्रतिशत बेरुजु देखिएको छ ।
नगरपालिकातर्फ हेर्दा शिवराज नगरपालिका मा ०.७५ प्रतिशत, कपिलवस्तु नगरपालिका मा ०.६८ प्रतिशत, कृष्णनगर नगरपालिका र महाराजगञ्ज नगरपालिका मा ०.६१ प्रतिशत बेरुजु रहेको छ।
यस्तै बुद्धभूमि नगरपालिका मा ०.५८ प्रतिशत तथा सबैभन्दा कम बाणगंगा नगरपालिका मा ०.२९ प्रतिशत बेरुजु देखिएको छ । बाणगंगामा ३ अर्ब १० करोड १ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ८८ लाख ४८ हजार रुपैयाँ मात्र बेरुजु देखिएको तथ्यांकले जनाएको छ ।
लेखापरीक्षण प्रतिवेदनले स्थानीय तहहरूमा आर्थिक पारदर्शिता र खर्च व्यवस्थापनमा थप सुधारको आवश्यकता रहेको संकेत गरेको छ ।

