कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन


पालिका पत्र

5 June, 2026 6:46 am मा प्रकाशित

कपिलवस्तु नगरपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, दलित तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य संस्थाको पहुँच कमजोर रहेका बस्तीमा घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको यो सेवा नगरवासीका लागि राहत र आशाको नयाँ माध्यम बनेको बताएको छ ।

मंगलबार एक कार्यक्रमका बिच नगरप्रमुख सुदीप पौडेलको स्वास्थ्य परीक्षण गरी मोबाइल स्वास्थ्य क्लिनिक सेवाको औपचारिक शुभारम्भ गरिएको छ । संघीय सरकारको खर्च कटौतीसम्बन्धी परिपत्रका कारण केही समय रोकिएको सेवा आवश्यक जनशक्ति व्यवस्थापनपछि पुनः सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकालाई ०८२ वैशाख १२ गते बुद्धिस्ट चुजी च्यारेटी फाउन्डेसनले घुम्ती स्वास्थ्य सेवा सञ्चालनका लागि सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान हस्तान्तरण गरेको थियो। फाउन्डेसनका उपाध्यक्ष युपी लिन नेतृत्वको टोलीले नगरप्रमुख पौडेललाई भ्यानको साँचो हस्तान्तरण गरेका थिए।

वातानुकूलित भ्यानमा सञ्चालित क्लिनिकमा एमबिबिएस डाक्टर, स्टाफ नर्स र ल्याब टेक्निसियनसहितको स्वास्थ्य टोली खटिएको छ । क्लिनिकमार्फत ६० वर्षमाथिका नागरिकको रक्तचाप, मधुमेह (ब्लड सुगर) तथा पिसाब परीक्षण निःशुल्क गरिने बताएको छ ।

१२ वडा रहेको नगरपालिकाका प्रत्येक वडामा दुई दिनका दरले सेवा सञ्चालन गरिने योजना रहेको बताएको छ । पहिलो दिन वडा नम्बर १२ को बिटुवा गाउँबाट सेवा सुरु गरिएको छ । नगरप्रमुख सुदीप पौडेलले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम र सेवाबाट वञ्चित बस्तीमा स्वास्थ्य पहुँच विस्तार गर्न मोबाइल क्लिनिक सञ्चालन गरिएको बताएका छन्।

पौडेलले भने, ‘नगरका केही बस्तीमा अझै पनि स्वास्थ्य सेवाको सहज पहुँच छैन भने कतिपय स्वास्थ्य संस्थामा प्रयोगशाला सेवाको अभाव छ। यस्तो अवस्थामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिकले नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउनेछ । विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती महिला, दलित तथा विपन्न समुदायलाई घरदैलोमै सेवा पुर्‍याउने हाम्रो लक्ष्य हो ।’

उनले फाउन्डेसनको सहयोगले नगरपालिकालाई नागरिकमैत्री स्वास्थ्य सेवा विस्तार गर्न महत्त्वपूर्ण अवसर प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा सेवाको दायरा थप विस्तार गरिने बताएका छन्। स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार मोबाइल क्लिनिकले स्वास्थ्य संस्था पुग्न कठिनाइ भएका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ। नियमित परीक्षण र प्रारम्भिक स्वास्थ्य जाँच गाउँमै उपलब्ध हुँदा रोगको समयमै पहिचान र उपचारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले पनि गाउँमै चिकित्सकसहितको सेवा उपलब्ध भएपछि स्वास्थ्य परीक्षणका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले सञ्चालनमा ल्याएको यो सेवा ग्रामीण बस्तीमा स्वास्थ्य पहुँच अभिवृद्धि गर्ने प्रभावकारी अभियानका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्