बाणगंगा, २४ जेठ । कपिलवस्तु कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वन व्यवस्थापन, जैविक विविधता संरक्षण तथा मानव स्वास्थ्यमा वनको प्रभाव सम्बन्धी एक दिवसीय वृहत् उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। नव छहारी सामाजिक विकास संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो मायादेवी १०६.१ मेगाहर्जको प्राविधिक सहयोगमा मालिका खानेपानी वण्डौलिको सभाहलमा उक्त कार्यक्रम विहिबार भव्य रूपमा सम्पन्न भएको हो ।
नेपालमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको र वातावरणीय सन्तुलन बिग्रँदै गएको वर्तमान अवस्थामा स्थानीय स्तरमै उपभोक्ताहरूलाई सचेत गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
नव प्रभात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र वेल्वासे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वेल्वासेले वन र पर्यावरणको संरक्षण विना मानव अस्तित्व नै संकटमा पर्ने भएकाले सामुदायिक वनहरूले यस्ता चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले वडा कार्यालयको तर्फबाट वन र वातावरण संरक्षणका क्षेत्रमा सदैव पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा वाणगंगा बहुमुखी क्याम्पसका प्रमुख डी.वी. रेश्मी विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । उहाँले वनस्पति र जैविक विविधताको ह्रासले मानव स्वास्थ्यमा सिधै नकारात्मक असर पारिरहेको तर्फ ध्यानाकर्षण गराउनुभयो। कार्यक्रममा विभिन्न स्थानीय संघ-संस्थाका प्रमुख, प्रतिनिधि तथा नव प्रभात वन समूहका करिब एक सय जना उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
”वनको दिगो व्यवस्थापनमार्फत प्राकृतिक स्रोतको संरक्षण र स्थानीय समुदायको जीवनस्तर सुधार गर्न सकिन्छ।” ऋषिराम न्यौपाने, अन्तर्राष्ट्रिय प्रशिक्षक
कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा आमन्त्रित अन्तर्राष्ट्रिय प्रशिक्षक ऋषिराम न्यौपानेले सहभागीहरूलाई वन संरक्षण, जैविक विविधताको महत्त्व, वातावरणीय सन्तुलन र मानव स्वास्थ्यसँग वनको प्रत्यक्ष सम्बन्धबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो । उहाँले वनलाई केवल काठ-दाउराको स्रोतका रूपमा मात्र नलिन आग्रह गर्दै यसको वैज्ञानिक व्यवस्थापन गर्न सके स्थानीय समुदायको आर्थिक उपार्जन र जीवनस्तरमा ठूलो सुधार ल्याउन सकिने उपायहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी उपभोक्ताहरूले वनको वैज्ञानिक व्यवस्थापन र जैविक विविधता जोगाउन आफूहरू थप सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन नव प्रभात सामुदायिक वन उपभोक्ता समूहकी सचिव सीता भुसालले गर्नुभएको थियो ।


