बाणगंगा, २४ जेठ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा दुई दिने निःशुल्क आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सञ्चालित उक्त विशेष स्वास्थ्य शिविरबाट वन समूह अन्तर्गतका विभिन्न टोलका पाँच सयभन्दा बढी उपभोक्ताहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
नियमित आँखा परीक्षण गराउन नपाएका स्थानीय नागरिकहरूलाई उनीहरूकै घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले वन समूहले यो सेवामूलक कार्यक्रमको आयोजना गरेको हो ।

उपभोक्ताहरूको सहजताका लागि शिविरलाई दुई चरणमा विभाजन गरी फरक-फरक स्थानमा सञ्चालन गरिएको थियो। पाँचवटा टोल समेटिएको यस सामुदायिक वनमा शिविरको पहिलो दिन (शुक्रबार) टोल नं. १ र २ का उपभोक्ताहरूलाई लक्षित गरी जलेश्वर मन्दिर परिसरमा आँखा जाँच गरिएको थियो । त्यस्तै, दोस्रो दिन (शनिबार) बाणगंगा माध्यमिक विद्यालय लौगाईमा टोल नं. ३, ४ र ५ का उपभोक्ताहरूको आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
शिविरलाई नव छहारी सामाजिक विकास संस्था तथा भैरव चश्मा पसल तथा आँखा उपचार केन्द्रले प्राविधिक सहयोग पुर्याएका थिए। शिविरमा वरिष्ठ आँखा प्राविधिकहरूद्वारा बिरामीहरूको आँखाको दृष्टि जाँच, मोतियाविन्दुको पहिचान तथा अन्य समस्याहरूको गम्भीरतापूर्वक परीक्षण गरी आवश्यक परामर्श दिइएको थियो । सो अवसरमा आँखाका बिरामीहरूलाई आवश्यक पर्ने विभिन्न प्रकारका औषधिहरू समेत पूर्ण रूपमा निःशुल्क वितरण गरिएको थियो ।

“आर्थिक अभाव र चेतनाको कमीले गर्दा धेरै उपभोक्ताहरू आँखाको समस्या लुकाएर बस्न बाध्य हुनुहुन्थ्यो। गाउँमै निःशुल्क औषधि र विशेषज्ञ सेवा पाउँदा हामीलाई ठूलो राहत मिलेको छ ।” शिविरमा सहभागी एक स्थानीय उपभोक्ता
घरआँगनमै विशेषज्ञ डाक्टरहरूबाट आँखा परीक्षण गराउन पाउँदा र निःशुल्क औषधि समेत प्राप्त गरेपछि स्थानीय उपभोक्ताहरू निकै खुसी देखिएका थिए ।
शिविरको समापन गर्दै आयोजक संस्थाका पदाधिकारीहरूले वन संरक्षणसँगै उपभोक्ताहरूको सुख-दुःख र स्वास्थ्यमा सारथी बन्नु सामुदायिक वनको दायित्व भएको उल्लेख गरे । यस्ता जनचेतनामूलक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि स्थानीयको माग र आवश्यकताका आधारमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएको छ ।
उक्त दुई दिने आँखा शिविर कार्यक्रम नव प्रभात सामुदायिक वन उपभोक्ता समूहकी सचिव सीता भुसालको कुशलतापूर्वक सञ्चालनमा सम्पन्न भएको थियो ।


