बालश्रममुक्त स्थानीय तह घोषणा गरेबापत बाणगंगा नगरपालिका नेपाल सरकारबाट सम्मानित


पालिका पत्र

2 July, 2026 9:29 pm मा प्रकाशित

कपिलवस्तु, असार १८ । कपिलवस्तुको बाणगंगा नगरपालिका नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सम्मानित भएको छ ।

बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य तथा सम्मानजनक सामाजिक जीवन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय बालश्रम अन्त्य अभियान अन्तर्गत बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ मा उल्लेखित सबै सूचकहरू पूरा गरी सफलतापूर्वक बालश्रममुक्त स्थानीय तह घोषणा गरेबापत मन्त्रालयले नगरपालिकालाई सम्मान–पत्र प्रदान गरेको हो ।

मन्त्रालयले प्रदान गरेको सम्मान–पत्रमा बालश्रममुक्त अवस्थाको दिगोपना कायम राख्दै बालमैत्री समाज निर्माणमा बाणगंगा नगरपालिकाले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव ले बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल लाई सम्मान–पत्र हस्तान्तरण गरेका हुन् ।

यस सम्मानसँगै बाणगंगा नगरपालिकाले बालअधिकार संरक्षण, बालश्रम न्यूनीकरण तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनका क्षेत्रमा गरेको प्रयासले राष्ट्रियस्तरमा थप पहिचान र विश्वास हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्