बाणगंगा, भदौ २५ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनस्थित जननी आधारभूत विद्यालयले आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालयले एक वर्षमा गरेका शैक्षिक, भौतिक तथा आर्थिक गतिविधिलाई सरोकारवालामाझ सार्वजनिक गर्दै विद्यालयको आय–व्यय विवरणसमेत प्रस्तुत गरेको हो ।
विद्यालयका प्रधानाध्यापक रुद्रमाया पौडेलले विद्यालयको भौतिक अवस्था, शैक्षिक गतिविधि र उपलब्धिबारे जानकारी गराउँदै आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक योजना र रणनीति प्रस्तुत गर्नुभयो ।
सामाजिक परीक्षणका क्रममा विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को ८० लाख ७० हजार ८ सय १६ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । विद्यालयले सामाजिक परीक्षणलाई आर्थिक पारदर्शिता, व्यवस्थापकीय जवाफदेहिता र विद्यालयका गतिविधिमाथि सरोकारवालाको निगरानी बढाउने माध्यमका रूपमा लिएको जनाएको छ ।
यसैबीच विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति तथा विद्यालयका अन्य शैक्षिक गतिविधिले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने विद्यालयको अपेक्षा छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिका–८ का वडा सदस्य विश्वास जिसीले २०४४ सालमा स्थापना भएको जननी आधारभूत विद्यालयले लामो समयदेखि स्थानीय क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको योगदानको चर्चा गर्नुभयो । उहाँले विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै विद्यालय विकासमा वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी कृष्ण पौडेल, गीता भुसाललगायतले विद्यालयको शैक्षिक प्रगति, व्यवस्थापन तथा आगामी योजनाबारे सुझाव तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
शिक्षक–अभिभावक संघका अध्यक्ष बसन्ती चन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर, आर्थिक पारदर्शिता र जवाफदेहितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

