कपिलवस्तु । १७औँ कपिलवस्तु महोत्सव नजिकिँदै गर्दा आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले तयारीलाई तीव्र बनाएको छ। महोत्सवलाई भव्य र व्यवस्थित बनाउने लक्ष्यसहित संघले आर्थिक स्रोत व्यवस्थापनदेखि प्रचारप्रसार, संस्थागत सहकार्य र क्षेत्रगत सहभागिता सुनिश्चित गर्न सरोकारवाला पक्षसँगको छलफललाई प्राथमिकता दिएको छ ।
महोत्सवलाई सफल बनाउन केवल आयोजकको तयारी पर्याप्त नहुने भएकाले संघले निजी क्षेत्र, वित्तीय संस्था, व्यवसायी, पूर्व पदाधिकारी तथा विभिन्न उपसमितिलाई एकै ठाउँमा जोड्ने प्रयास थालेको हो। यसक्रममा बिहीबार वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, संघका पूर्व पदाधिकारी र क्षेत्रगत उपसमितिका सदस्यहरूसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरिएको छ ।
छलफलमा महोत्सवको आर्थिक व्यवस्थापन, संस्थागत सहकार्य, प्रचारप्रसार, व्यवस्थापकीय तयारी र उपसमितिहरूको जिम्मेवारीका विषयमा विचारविमर्श भएको संघले जनाएको छ। महोत्सव सञ्चालनका लागि आवश्यक आर्थिक तथा संस्थागत सहयोग जुटाउने र सबै पक्षको अपनत्व स्थापित गर्ने विषयमा समेत जोड दिइएको थियो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीको नेतृत्वमा भएको छलफलमा निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष विष्णु न्यौपाने, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, उपाध्यक्ष नारायण पौडेल र महासचिव नवदत्त घिमिरेलगायत सहभागी थिए ।
छलफलमा महोत्सवलाई जिल्लाको आर्थिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिएको थियो । स्थानीय उद्योगी, व्यवसायी, कृषि उद्यमी तथा उत्पादकलाई बजारसँग जोड्न सके महोत्सवको उपलब्धि मनोरञ्जन र व्यापारिक कारोबारमा मात्र सीमित नरहने अपेक्षा गरिएको छ ।
संघले यसपटकको महोत्सवलाई स्थानीय उत्पादनको बजारीकरण, कृषि तथा औद्योगिक क्षेत्रको प्रवर्द्धन, पर्यटन विकास र जिल्लाको पहिचान स्थापित गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ । त्यसका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिने, व्यवसायीको सहभागिता बढाउने र विभिन्न क्षेत्रका संस्थासँग सहकार्य विस्तार गर्ने चुनौती पनि आयोजकसामु देखिएको छ ।
महोत्सवको सफलता त्यसमा हुने दर्शकको सहभागिता र व्यापारिक कारोबारले मात्र नभई स्थानीय उत्पादन, उद्यमशीलता र पर्यटन क्षेत्रमा पार्ने प्रभावले पनि मापन हुने भएकाले आयोजकले त्यसतर्फ कस्तो कार्यक्रम र व्यवस्थापन गर्छ भन्ने चासो बढेको छ ।
१७औँ कपिलवस्तु महोत्सव यही मंसिर १७ गतेदेखि २९ गतेसम्म बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रङ्गशालामा सञ्चालन हुँदैछ। महोत्सवमार्फत जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिलाई थप गति दिने आयोजकको अपेक्षा छ ।








प्रतिक्रिया दिनुहोस्