हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा नतिजा उत्सव सुरु


पालिका पत्र

7 April, 2026 8:58 pm मा प्रकाशित

बाणगंगा नगरपालिका–२, पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम २०८२ भव्य रूपमा जारी रहेको छ ।

मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रमको पहिलो दिन प्ले ग्रुपदेखि युकेजी तहसम्मका विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा बुधबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने र विहिबार ६ देखी ९ सम्मका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने विद्यालयका प्रिन्सिपल शिवकुमार पोखरेलले जानकारी दिएका छन् ।

विद्यालयले पछिल्ला केही वर्षदेखि पुरस्कार वितरणलाई थप आकर्षक र प्रेरणादायी बनाउन नयाँ शैली अपनाउँदै आएको छ । साना कक्षामा उत्तीर्ण भएका सबै विद्यार्थीलाई मेडल प्रदान गरिएको छ भने युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गर्ने विद्यार्थीहरूलाई विशेष टोपी र गाउनमा सजाइएको थियो । गाउनमा सजिएका विद्यार्थीहरूको दृश्य विश्वविद्यालयको दीक्षान्त समारोहको झल्को दिने खालको देखिन्थ्यो, जसले अभिभावक तथा उपस्थित सबैलाई आकर्षित गरेको थियो ।

विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलका अनुसार नर्सरीदेखि सबै कक्षाका प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई टफी तथा मेडल प्रदान गरिएको छ। उनले विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिँदै सीमित सिट उपलब्ध भएकाले समयमै भर्ना गराउन अभिभावकलाई आग्रह गरेका छन्। साथै, चैत २४ गतेदेखि तीन दिनसम्म विशेष छुटको व्यवस्था गरिएको पनि उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले विद्यालयलाई नवीन र प्रतिस्पर्धात्मक शैलीमा अघि बढाउँदै लगिएको उल्लेख गर्दै विद्यार्थीहरूमा अध्ययनप्रति रुचि अभिवृद्धि गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताए। उनले आगामी दिनमा विद्यालयलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको स्पष्ट पारे।

कार्यक्रमको सञ्चालन शिक्षक तेजप्रसाद आचार्य र शिक्षिका मञ्जु सिंजालीले गरेका थिए भने अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्