कपिलवस्तु नगरपालिकाका दुई वडा बालमैत्री घोषणा


पालिका पत्र

1 July, 2026 6:12 am मा प्रकाशित

असार १६, कपिलवस्तु।

जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नं। ६ र ११ लाई एकैसाथ बालमैत्री वडा घोषणा गरिएको छ । तिलौराकोट माध्यमिक विद्यालयमा आयोजित समारोहमा दुवै वडालाई बालमैत्री स्थानीय शासनका सबै मापदण्ड पूरा गरेपछि घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पानसमा दीप प्रज्वलन गर्दै दुवै वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको थियो । उहाँले सामाजिक विकासका सूचकमा नगरपालिकाका यी दुई वडाले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै जिल्लाका सबै स्थानीय तह र वडालाई क्रमशः बालमैत्री घोषणा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रमुख आचार्यले शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा अझै पछाडि रहेको कपिलवस्तुलाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । घोषणा गरिएका वडाले प्राप्त उपलब्धिलाई दिगो बनाउन सबैको सक्रियता आवश्यक रहेको उहाँको भनाइ छ ।

नगर प्रमुख सुदीप पौडेलले लामो प्रयासपछि दुई वडाले बालमैत्री घोषणा हुने उपलब्धि हासिल गरेको बताउँदै अब सम्पूर्ण नगरपालिकालाई नै बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा जिल्लाको अवस्था सुधार्न सबैको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरी दुवै वडालाई घोषणा गर्न सफल हुनु प्रशंसनीय कार्य भएको बताउँदै यसलाई निरन्तर कायम राख्न सरोकारवाला सबै सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वडा नं. ११ का वडाध्यक्ष रामगोपाल यादवले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा भएको आधारमा दुवै वडालाई बालमैत्री घोषणा गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाका सामाजिक विकास अधिकृत तथा बालमैत्री स्थानीय शासनका स्रोत व्यक्ति पदमराज श्रेष्ठका अनुसार बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८, बालमैत्री स्थानीय शासन कार्यविधि, २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिमका ५१ वटा सूचक पूरा भएपछि वडा नं. ६ र ११ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।

उहाँका अनुसार वडा नं. ६ र ११ मा १८ वर्षमुनिका तीन हजार ८७६ बालक र तीन हजार ६७९ बालिका गरी सात हजार ५५५ जना बालबालिका रहेका छन् । कार्यक्रममा बालमैत्री घोषणा अभियानमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्