बालश्रममुक्त स्थानीय तह बनेपछि बुद्धभूमी नगरपालिका नेपाल सरकारबाट सम्मानित


पालिका पत्र

4 July, 2026 6:57 pm मा प्रकाशित

कपिलवस्तु, असार २०। कपिलवस्तुको बुद्धभूमी नगरपालिका बालश्रममुक्त स्थानीय तह घोषणा गर्न सफल भएपछि नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सम्मानित भएको छ ।

बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय बालश्रम अन्त्य अभियानअन्तर्गत बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ ले तोकेका सबै मापदण्ड पूरा गरेपछि नगरपालिकाले उक्त सम्मान प्राप्त गरेको हो ।

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले बुद्धभूमी नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ लाई सम्मान–पत्र प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री यादवले बालश्रममुक्त अवस्थाको दिगोपना कायम राख्दै बालमैत्री समाज निर्माणमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गर्नुभयो ।

सम्मान–पत्रमा बालबालिकालाई शिक्षा, स्वास्थ्य, संरक्षण र विकासका अवसरबाट वञ्चित गर्ने बालश्रम अन्त्यका लागि बुद्धभूमी नगरपालिकाले खेलेको सक्रिय भूमिका र गरेको प्रतिबद्ध प्रयासको प्रशंसा गरिएको छ । साथै, बालअधिकार संरक्षण तथा बालमैत्री स्थानीय शासनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।

नगरपालिकाले पछिल्ला वर्षहरूमा बालश्रममा संलग्न बालबालिकाको पहिचान, उद्धार, पुनःस्थापना, विद्यालय भर्ना, जनचेतनामूलक अभियान सञ्चालन, सरोकारवाला निकायसँग समन्वय तथा समुदायमा बालअधिकारसम्बन्धी सचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यही निरन्तर प्रयासका कारण बालश्रममुक्त स्थानीय तह घोषणा गर्न आवश्यक सबै सूचक पूरा गर्न नगरपालिका सफल भएको हो ।

यो सम्मानले बुद्धभूमी नगरपालिकाको मात्र होइन, समग्र कपिलवस्तु जिल्लाकै गौरव बढाएको छ । साथै, स्थानीय सरकारको दृढ इच्छाशक्ति, प्रभावकारी योजना र समुदायको सक्रिय सहभागितामार्फत बालश्रम अन्त्य गर्न सकिने सन्देश पनि दिएको छ ।

बालश्रम बालअधिकारको गम्भीर उल्लङ्घनका साथै सामाजिक विकासको प्रमुख चुनौती हो । बालबालिकालाई श्रममा होइन, विद्यालय, खेलकुद, सिर्जनशील गतिविधि र सुरक्षित वातावरणमा हुर्कने अवसर सुनिश्चित गर्नु राज्य, स्थानीय सरकार, समुदाय र अभिभावक सबैको साझा जिम्मेवारी हो । बुद्धभूमी नगरपालिकाले प्राप्त गरेको यो सम्मानले अन्य स्थानीय तहलाई पनि बालश्रम अन्त्यका लागि प्रभावकारी पहल गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्